विराटनगर / विराटनगर महानगरपालिकामा इजलास स्थापना गरिएको छ । बिहीबार महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीसहित न्यायिक समितिका सदस्यहरूले मुद्दाको अध्ययन गरेर इजलासको सुरुवात गरेका हुन् ।
यसअघि उपमेयर कार्कीको कार्यकक्षलाई नै इजलासको रूपमा प्रयोग गरिँदै आएको थियो । न्यायिक समिति संयोजक कार्कीले अब व्यवस्थित रूपमा न्याय सम्पादनका काम हुने जनाइन् । ‘स्थानीय तहका देवानी प्रकृतिका मुद्दा इजलासमै बसेर सुनुवाइ हुनेछ,’ उनले भनिन् । जसले पक्ष र विपक्षसँग छलफल गर्न समस्या हुने गरेको थियो । पीडितहरूले खुलस्त भएर बोल्न सक्ने गरेका थिएनन् ।
न्यायिक समितिले प्रत्येक बुधबार इजलासमा मुद्दाको सुनुवाइ गर्ने तय गरेको छ । विराटनगर महानगरपालिकाको न्यायिक समितिको इजलासमा उपमेयर कार्की संयोजक तथा विनोदकुमार बस्नेत र तीथेन्द्र न्यौपाने सदस्य छन् ।
७१ मुद्दा दर्ता
विराटनगरको न्यायिक समितिमा हालसम्म विभिन्न प्रकृतिका ७१ मुद्दा दर्ता गरिएका छन् । जसमध्ये सम्बन्धविच्छेदका २३ छन् । तीमध्ये १५ मुद्दा मोरङ जिल्ला अदालतमा पठाइएको न्यायिक समितिले जनाएको छ । अन्य दुई मुद्दा मेलमिलाप भएका छन् भने ६ मुद्दा तारेखका छन् । त्यस्तै, घरजग्गा मोहीसम्बन्धी १२ मुद्दा परेका छन् । त्यसमध्ये तीन मुद्दालाई खाली गराएको छ भने नौ मुद्दा आवश्यक प्रक्रियामा रहेका छन् । यसैगरी बसोवास र शान्तिसुरक्षासम्बन्धी परेका ३४ मध्ये २३ मुद्दा विचाराधीन अवस्थामा छन् । नयाँ पत्रिका


















