राष्ट्रपतिका लागि गाडी किन्न भिख माग्दै युवाहरु

221

काठमाडौं / शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा केही युवाहरुले एक रुपैयाँ भिख मागेका छन् ।

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भइरहेका बेला राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा केही युवाहरुले भिख मागेका छन् ।

जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप भिख मागेका थिए । शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले ‘दान गर्नुहोस् पुन्य कमाउनुहोस्’ भन्दै सर्वसाधरणसँग एक एक रुपैयाँ भिख मागेका हुन् ।

१८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पुरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन् । युवाहरुले पशुपति बनकालि क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसँग भिख मागेका थिए ।

युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here