काठमाडौँ, प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको आइतबार सिंहदरबारमा बसेको बैठकलृ नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि देखिएको जनाएको छ ।
निगमको एयरबस ए ३३०–२०० जहाज खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन र संस्थाको खरीदविनियमावली विपरीत काम भएको समितिको ठहर छ । निगमको जहाज खरीद सन्दर्भमा सर्वत्र विरोध र प्रचारबाजी भए पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीलाई बोलाएर स्पष्टीकरण लिएको छ ।
समितिका सभापति भरत शाहले निगमको जहाज खरीदप्रक्रियामा महालेखापरीक्षकको ५५ प्रतिवेदनले त्रुटि औंल्याएको र पछिल्लो समय सार्वजनिक रुपमा अनियमितताको कुरा उठेपछि बैठकमा विषय प्रवेश गराइएको बताए । उनले पुरानो जहाज किन्न टेन्डर निकालेर नयाँ किन्नु कानूनविपरित रहेको भन्दै भार क्षमता कमजोर हुनु र एयरबससँग नकिनी अर्कै पाटीसँग खरीद गरिनुले अनियमितताको प्रशस्त आशङ्का जन्माएको बताए ।
समितिले जहाज खरीद प्रक्रियामा अनियमितता भएको प्रश्न उठाइरहदाँ निगमका पदाधिकारीले भने आफ्नो बचाउ गर्दै जहाज खरीद कानूनबमोजिम भएकाले कुनै अनियमितता नभएको जवाफ दिएका छन् ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको विनियमावली, सार्वजनिक खरीद प्रक्रिया अनुरुप जहाज खरीद गरिएको र यसमा कुनै अनियमितता नभएको बताए ।


















