काठमाडौं / नेकपाको स्थायी कमिटी बैठकमा बिहीबार नेताहरूको आचरण र जीवनशैलीमाथि प्रश्न उठेको छ । कम्युनिस्ट मूल्य मान्यताविपरीत उनीहरूको जीवनशैली देखिएको नेता अमृत बोहराले आरोप लगाए ।
पाँच दिनदेखि जारी बैठकमा बुधबारसम्म सरकार र पार्टी सञ्चालन शैलीको आलोचना हुँदै आएको थियो ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू कम्युनिस्ट पार्टीकै रहेका बेला विवादमा परिरहेको भन्दै बोहराले प्रश्न गरेका थिए । ‘माक्र्सवादी लेनिनवादी विचारधारामा विश्वास गर्ने कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली त्यहीअनुसार हुनुपर्छ, विलासिता प्रदर्शन गर्ने जुन प्रवृत्ति देखिएको छ, यसको अन्त्य गर्नुपर्छ,’ उनले भने ।
पछिल्लो समय मन्त्रीहरूले दोहोरो सुविधा लिएको र राष्ट्रपति–उपराष्ट्रपतिलाई महँगा गाडी तथा हेलिकप्टर खरिदको विषयले विवाद निम्त्याएकोसंकेत गर्दै बोहराले मुलुकको अवस्थाअनुसार न्यूनतम सुविधा प्रयोग गर्न ध्यानाकर्षण गराए ।
बोहराले नेताहरूमा आलोचना फिटिक्कै सुन्न नसक्ने प्रवृत्ति हाबी भएको भन्दै यो पनि कम्युनिस्ट आदर्शविपरीत भएको जनाए । ‘आलोचना–आत्मालोचनाको शैली व्यावहारिक हुनुपर्छ, आलोचना सुन्न नसक्ने प्रवृत्ति हुर्कियो,’ उनले भने, ‘नेतृत्वमा रहने कोही पनि आलोचनाबाट माथि हुन हुँदैन ।’ उनले पार्टीमा आदर्श र प्रणाली कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गरे ।कान्तिपुर
















