काठमाडौं / देशका ७२ जिल्लाका कारागारमा २० हजारजति कैदी विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका छन् । तीमध्ये कति जना आचरण सुधारेर सामान्य जीवनमा फर्केलान् ? कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली यसबारे कुनै अध्ययन नरहेको जनाउँछन् । ‘कति सप्रेका पनि छन् तर कतिपय फेरि अपराधमै लागेका छन्,’ उनले भने, ‘कतिपय आपराधिक मानसिकता भएका हुन्छन् । तिनीहरू जति गरे पनि सुध्रिन्नन् ।’
महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार लामो समय जेल बस्दा राजनले आफ्नो नेटवर्क झनै विस्तार गरेको देखिन्छ । त्यसैको बलमा केही अपराधी जेलबाट निस्केर फेरि अपराधको संसारमा छिर्ने गर्छन् । सिंहको बुझाइमा केही अपराधी यस्ता छन् जसले जेलबाटै अपराधको पाठ सिकेका छन् ।
पूर्वडीआईजी देवेन्द्र सुवेदी अपराधलाई नै जीविकोपार्जन बनाएकाहरूले जेलमा झन् धेरै अपराध कर्म सिक्ने र झनै खुंखार बन्ने गरेको अनुभव सुनाउँछन् । ‘नेपालका जेलहरू अपराधको तालिम केन्द्रजस्तो बनिसकेका छन्,’ उनले भने ।
कारागार अपराध सिकाउने केन्द्र
– देवेन्द्र सुवेदी, पूर्वडीआईजी
नेपालका कारागारहरूको व्यवस्थापन यति झुर छ कि कुरा पनि कहाँबाट सुरु गरौं । जेलभित्र कैदीहरूका विभिन्न अनौपचारिक ग्याङ बन्छन् । कमजोर जेल प्रशासनका कारण सामान्य अपराधमा जेल परेकाहरूले भित्रै अपराधका अनेकन कथा, अनुभव र तौरतरिका सुन्छन् । यसले झन् ठूलो अपराधी बन्ने खतरा देखिन्छ । जेलभित्र अपराधको ज्ञान वितरण भइरहेको छ ।
२०७२ सालको कुरा । म मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख थिएँ । रामेछापको एक जेल निरीक्षणका क्रममा चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदीसँग कुराकानी भयो । उनी मुढा बुनिरहेका थिए । मैले जिज्ञासा राखें, ‘मुढा बुन्न सिक्नुभएछ । अब कैद सकिएपछि यही सीप काम लाग्ला नि ?’ उनको उत्तरले मलाई झस्काइदियो । भने, ‘यसले पोस आउँदैन । गर्ने त त्यही हो ।’
अर्थात् उनी फेरि चोरी कर्ममै फर्किनेमा निश्चिन्त थिए । एक थरी कैदी चोरी र डकैतीलाई नै अर्थोपार्जनको माध्यम मान्छन् । उनीहरू पक्राउ परे पनि जेलभित्र सुध्रिनुको सट्टा अपराधकै पाठ सिक्छन् । संगठित अपराधमा पक्राउ परेकाहरू पनि सजाय भुक्तानपछि पुरानै ग्याङमा लाग्ने गरेको देखिन्छ ।
कोही कैद भुक्तानपछि आफ्नै ग्याङ पनि बनाउँछन् । किनकि उनीहरूले जेलभित्र सुध्रिने वातावरणभन्दा आपराधिक संसारकै कुरा सुन्छन् ।कान्तिपुर