कहिल्यै व्यापार नगरेकालाई ७८ करोड कर तिर्नुपर्ने पत्र आएपछि बेहोस !

333

कहिल्यै व्यापार नगरेका लीलाप्रसादलाई ७८ करोड तिर्नुपर्ने पत्र आएपछि बेहोस भएका छन् । राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका बेला उनका दाइ घर पुगेका थिए । उनले सो पत्र काठमाडौं ल्याएर भाइलाई दिए ।

पत्र खोलेर पढेका मात्र के थिए, लीलाप्रसाद बेहोस भए । आफन्तले उनलाई हतार–हतार अस्पताल पु¥याए । किनभने त्यो सामान्य पत्र थिएन । पत्रमा लेखिएको थियो, ‘तपाईंको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रा लि (स्थायी लेखा नम्बर ६०२४१८४२१)ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला ।’ कम्पनीको नाममा ७८ करोड रुपैयाँ कर दायित्व थियो ।

उनका कतिपय आफन्तलाई पत्र नक्कली हो कि भन्ने लाग्यो । तर, कर कार्यालयमा गएर बुझ्दा पत्र सक्कली नै भन्ने खुल्यो । थप विवरण हेर्दा अरूले नै उनको नागरिकताका आधारमा कम्पनी दर्ता गरेर कारोबार गरेको खुल्यो । आर्थिक वर्ष ०७१/७२ को ९ महिनाको अवधिमा सो कम्पनीले २ अर्ब ४२ करोडको कारोबार गरेको थियो । त्यसपछि कर कार्यालयमा सम्पर्क नराखेपछि नागरिकताका आधारमा लीलाप्रसाद श्रेष्ठको नाममा पत्र लेखिएको थियो । नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here