झापा । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य पार्टी प्रवक्ता हरीभक्त कडेंल प्रतिकले आफ्नो पार्टीले विचार राजनीतिक र कार्यदिशाका आधारमा सबै राष्ट्रियता पक्षधर शक्तिहरुसँग एकता गर्ने बताएका छन ।
पार्टी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले देशव्यापी रुपमा गर्न लागेको पन्द्र दिने मेची महाकाली जनजागरण अभियानको सन्दर्भमा आज झापाको विर्तामोडमा स्थानीय पत्रकारहरुसँग कुराकानी गर्दै त्यस्तो बताएका हुन् ।
क्रान्तिकारी माओवादीका नेता कडेंलले भने–‘पार्टी एकताको लागि विभिन्न समयमा विप्लव समूह लगायत अरुपनि क्रान्तिकारी शक्तिहरुसँग पार्टी एकताको लागि छलफलहरु भएका छन । क्रान्तिलाई केन्द्र बिन्दु बनाउने हो भने, विचार, राजनीति र कार्यदिशाका आधारमा एकता गर्नुपर्छ भन्नेमा हाम्रो जोड छ ।’
उनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्षका लागि तयार हुने सबै राजनीतिक शक्तिसँग एकताका आह्वान समेत गरे । उनले क्रान्तिकारी शक्तिहरुबीचको एकता अपरिहार्य आवश्यकता रहेकोमा जोड दिए ।
विप्लव समूहसँगको एकता छलफलको विषयमा पत्रकारले सोधेको जिज्ञासामा उत्तर दिदैं उने भने–‘पार्टी एकताको लागि भएका छलफलमा विप्लव जीहरुको भावनात्मक कुराहरु मात्र जोड देखियो, उहाँहरु राजनैतिक, वैचारिक कुरामा सहमत नहुने स्थिति देखिएको छ । उहाँहरुको छलफलमा, वहसमा अलिक हिचकिचाहट जस्तो देखिएको छ ।’
‘वर्तमान संदीय व्यवस्था दलाली, भ्रष्टिकरणको संरक्षण गर्दै जनघात, राष्ट्रघातको बाटोमा अगाडी बढिरहेको छ, विभिन्न अन्तर्राष्ट्रिय शक्तिहरुले विस्तारवादी, साम्राज्यवादी नीतिको प्रभाव बढाउँदै गएको छ, यतिबेला क्रान्तिकारी शक्तिहरुबीचको एकता अपरिहार्य देखिएको छ, हामीले त्यसमा जोड दिएका छौं ।’–उनले भने ।
कार्यदिशामा बुझाईको एकता बनाउँदै जनबिद्रोहको कार्यदिशामा अघि बढ्नु आजको आवश्यकता आफुहरुले देखेको उनले हरपल नेपाललाई जनाए । उनले जनबिद्रोहको मोडेल रुसको वा चीनको जस्तो नभएर नेपाली समाजको संरचना अनुसार तयार गर्नुपर्नेमा जोड दिए ।

















