काठमाडौं / शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।
भाषा परीक्षाका लागि शुक्रबारदेखि परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन लागेको छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । कोहीले भने बिहान चारबजेदेखि लाइनमा बसिरहेको जनाए । परीक्षार्थीको सुविधाका लागि बैकले सुविधाका लागि टोकन वितरण गरिरहेका छ्न् । यता इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले विभिन्न मिडियासँगको कुराकानीमा परीक्षार्थीले नबुझेर लाइनमा बसेको जनाए । उनका अनुसार बैंकबाहेक अनलाइनबाटै परीक्षा शुल्क जम्मा गर्न सकिने र फारम भर्न सकिने सूचना यसअघि नै निकालिएको थियो ।
इपिएसको वेबसाइटमा मात्रै नभई भाषा सिकाउने संस्थामा पनि यसबारे जानकारी दिएको उनले बताए । बिहिबार राती १२ बजेपछि घरबाटै परीक्षा शुल्क जम्मा गर्न सकिने उनले जानकारी दिए । परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट https://eoers.epsnepal.gov.np/ बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ ।
पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।


















