सिरहा / धर्म प्रचार गर्ने उद्देश्यले पुगेका आएको क्रिश्चियन संस्थाले गरेको निःशुल्क शिविरमा शल्यक्रिया गराउँदा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमाउनु परेको छ ।
शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मीको टीम ल्याइएको थियो । तिनले दिएका झोल दबाईमा पनि के लेखिएको छ, बुझिँदैन । फागुन १३ देखि १५ सम्म राखिएको शिविरमा ७७ जनाको शल्यक्रिया गरेको थियो । जसमध्ये अधिकांशमा महिना नबित्दै आँखामा गम्भीर समस्या देखा प¥यो । कर्जन्हा नगरपालिका–८ थल्हा र आसपासमा सोमबार पुग्दा ५ जनाको ज्योति गुमेको पाइयो । अन्य गाउँबाट उपचार गराएकाहरूको अवस्था खुल्न सकेको छैन । ज्योति गुमाउनेमा थल्हाका कलम हुसैन, रामझरी पासमान, देवलाल राउत, गौतारीका गोलियादेवी पासमान र विन्देश्वरी पासवान छन् । गत फाल्गुन १५ गते उनीहरुले फुलकुमारी महतो मेमोरियल अस्पतालमा भएको शिविरमा मोतिबिन्दुको शल्यक्रिया गराएका थिए । फुलकुमारी मेमोरियल अस्पतालमा ‘रिचिङ द नेशन’ (आरटीएन) स्कुलले शिविर आयोजना गरेको थियो । त्यसमा अस्पतालको साझेदारी रहेको बताइए पनि उसले ठाउँमात्र दिएको दाबी गरेको छ । आरटीएन स्कुल क्रिश्चियन संस्थाले चलाएको हो ।
उसले दक्षिण कोरियाबाट ३० जनाभन्दा बढीको टोली शिविरका लागि ल्याएको थियो । त्यसमा विशेषज्ञ चिकित्सक भएको बताइए पनि प्रमाणित हुन सकेको छैन । शल्यक्रियापछि उनीहरुलाई दुई किसिमका झोल औषधी दिइएको थियो । त्यसलाई एक महिनासम्म प्रयोग गर्न भनिएको थियो । औषधीको नाम कोरियाका भाषामै छ । उनीहरुको के के जाँच भयो ? शल्यक्रियापछि कुन कुन औषधी दियो ? त्यो उल्लेख छैन । आफूहरुलाई नामदर्ताको पुर्जासमेत नदिएको पीडितले सुनाए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
‘गाउँमा विदेशी डाक्टरबाट निःशुल्क उपचार हुँदैछ भन्ने खुब प्रचार सुनें, त्यसकै भरमा लागेर शिविरमा गएँ,’ हुसैनले भने, ‘निःशुल्क शल्यक्रियाले आँखाको ज्योति नै लग्यो । खेतमा गहुँ कटान गर्नुछ, आँखामा समस्या भएपछि काम गर्न सकेको छैन ।’ शल्यक्रिया गराएको ५ दिनभित्रै आँखाको दृष्टिमा समस्या आउन थालेको उनले सुनाए । शिविर आयोजना गरेका आरटीएन स्कूलमा २ सय ९० विद्यार्थी निःशुल्क पढ्छन् । शर्त छ – अभिभावक क्रिश्चियन हुनुपर्ने । धर्मकै प्रचार स्वरुप स्कुलले शिविर आयोजना गरेको हो । उक्त स्कुललाई ‘गुड पिपुल नेपाल’ नामको एनजीओले आर्थिक सहयोग गरिरहेको छ । शिविरमा चिकित्सकको लापरवाहीले नभएर बिरामी आफैं लापरवाही गरेको हुन सक्ने आरटीएन स्कूलका उपाध्यक्ष नागेन्द्र पासमानले दाबी गरे । शिविरका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पनि लिएको उनले बताए । आफूहरू क्रिश्चियन भएपनि स्कूलमा धर्म प्रचारभन्दा सेवाका लागि गरीब विद्यार्थीहरूलाई पढाउने गरेको उनको जिकिर छ ।
फुलकुमारी अस्पतालले स्थान मात्रै उपलब्ध गराएको मेडिकल डाइरेक्टर डा। शिवशंकर साहले बताए । ‘हामी आयोजक होइनौं । स्थान मात्र उपलब्ध गराएको हो,’ उनले भने, ‘चिकित्सक, औषधी र उपचार सामग्री सबै कोरियाबाटै ल्याएका
हुन् ।’


















