प्रदेश २ सरकारले लोकसेवालाई कर्मचारी भर्ना विज्ञापन नगर्न आग्रह

118

काठमाडौं  /  प्रदेश २ सरकारले कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोगलाई पत्र लेखेर प्रदेश २ को प्रदेशस्तर र १ सय ३६ स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न आग्रह गरेका हुन् । कर्मचारी समायोजनपछि तीनवटै तहमा अझै ३७ हजार कर्मचारी अपुग छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सबै स्थानीय तहलाई पदपूर्तिका लागि माग फाराम पठाउन पत्रचार गरेको थियो ।

स्थानीय तहमा रित्त पदमा यथाशीघ्र पूर्ति गर्नुपर्ने भएकाले प्रदेश लोकसेवा आयोग गठन नभएसम्म रिक्त पदहरूमा केन्द्रीय लोकसेवा आयोगमार्फत विज्ञापन गरिने पत्रमा उल्लेख थियो ।

रिक्त दरबन्दीमा संघीय सरकारले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्तिको सुरसार गरेपछि प्रदेश २ ले आपत्ति जनाउँदै उक्त अधिकार प्रदेश सरकारसँग रहेको उल्लेख गरेको हो । मुख्यमन्त्री राउतले प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक अन्तिम चरणमा रहेको र त्यसलगत्तै प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा प्रदेश सरकार रहेको पत्रमा उल्लेख गरेका छन् । उनले संविधानको विभिन्न धारालाई उद्धृत गर्दै प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाको अधिकार प्रदेश कानुनअनुसार हुने व्यवस्थातर्फ आयोगको ध्यानाकर्षण गराएका छन् । संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिका कर्मचारी र कार्यालयसम्बन्धी अन्य व्यवस्था प्रदेश कानुनबमोजिम हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here