नेपालगञ्ज / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनतर्फ महिला एकलमा रशिला महर्जनले नयाँ इतिहास बनाउन सफल भएकी छिन् । नङ्शल तामाङको एक छत्र राजलाई तोड्दै आर्मीकी रशिला महर्जन राष्ट्रिय च्याम्पियन बन्ने कान्छी खेलाडी भएकी छिन् । शनिबार भएको फाइनल खेलमा आर्मीकै नङ्शललाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । रशिलाले नङ्शललाई १९-२१, २१-१४ र २४-२२ को सेटमा पराजित गर्न सफल भइन् । पहिलो सेट गुमाएकी रशिलाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दुबै सेट आफ्नो पक्षमा पारेकी थिइन् । १४ वर्ष टेकेकी रशिला अहिले कक्षा ९ मा अध्ययनरत छिन् । यसअघि उनी कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पनि च्याम्पियन बनेकी थिइन् ।


















