काठमाडौं । नेकपा(माअोवादी केन्द्र)का नेता सुदन किरातीले ५ बुँदे प्रस्ताव पेश गर्दै त्यसमा सहमति नभए पार्टीमा रहन नसकिने उद्घोष गरेका छन् । पार्टीभित्र जनार्दन शर्मा निकटका रुपमा परिचित किरातीले सामाजिक सञ्जालमार्फत ५ बुँदे प्रस्ताव पेश गर्दै त्यसमा नेतृत्व सहमत नभए सँगै यात्रा गर्न नसकिने प्रष्ट पारेका हुन् ।
माओवादी केन्द्रले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गर्ने तयारी गरेपछि नेता जनार्दन शर्माले असहमति जनाएका थिए । शनिबार बसेको माओवादी सचिवालय बैठकमा शर्माले असहमति जनाएर बाहिरिएका थिए ।
एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने निर्णय गरिसकेको छ भने माओवादीले पनि एकताको प्रसताव पारित गर्न सचिवालयपछि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ ।
यसले दुबै पार्टीमा विभाजन निम्तिएको छ । एकीकृत समाजवादीमा माओवादीसँग पार्टी एकता गर्ने निर्णय विरुद्ध सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल अलग भएका छन् भने माओवादीमा पनि शर्माले असहमति जनाएका छन् ।
किरातीको ५ बुँदे प्रस्ताव यस्तो छ :
निम्न विषयमा लिखित प्रतिबद्धता हुदाँ मात्र यात्रासंगै गर्न सकिन्छः
१. विधान संशोधन गरेर नयाँ संरचना निर्माण गरी अधिकार बाँडफाँड गरौं । (आवश्यक पर्दा संरक्षकले पार्टी
विघटन गरी अधिवेशनको घोषणासम्म गर्न पाउने गरी)
२. पार्टी, आन्दोलन र जेन(जी विद्रोहको भावना विपरीत व्यक्तिको लागि गर्न लागिएको अपूर्ण र अपवित्र (भ्रष्टाचार सम्बन्धि मुद्दाको छानविन भइरहेको बेला) पार्टी एकता तत्काल रोकौं ।
३. क.प्रचण्डलाई संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारीलाई निर्देशक कमिटीमा बदलौं ।
४. स्थायी समितिदेखि अग्रज नेताहरुको एक केन्द्रीय राजनीतिक समिति बनाऔं ।
(राष्ट्रिय महत्त्वको निर्णय र सांसद छनोट गर्ने लगायतको अधिकार सो समितिलाई विधानमा व्यवस्था गरौं)
५. तेश्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिउँ र त्यो तेश्रो पुस्ताले पुलको भूमिका स्वरुप पुरानोको अनुभव र नयाँ (जेन–जी) पुस्ताको उर्जालाई जोडेर पार्टीलाई गति दिउँ वा अफ्ठ्यारोमा परेको पार्टीलाई उद्वार गरौं ।
उपरोक्त विषय माओवादी पार्टी रुपान्तरणको विकल्प हुन् ।

















