काठमाडौं / जनताका गित गाउँदै आएका जनगायक जेबी टुहुरेको वैशाख १३ गते काठमाडौंमा एकल सांगीतिक प्रस्तुति हुने भएको छ । जे बि टुहुरे फउण्डेसनको आयोजनामा टुहुरेको एकल सांगीतिक प्रस्तुति जेबि टुहुरेको निरन्तरता २०७६ मा टुहुरेको प्रस्तुति हुने भएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो साढे चार बजे आयोजना हुने कार्यक्रममा जनगायकको उपमा पाएका टुहुरेले आफ्ना छानिएका १४ वटा गीत गाउनेछन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतको सहभागिता रहने छ ।
वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाई हिंड्नेको तांतीले बस्नेको मन रुवाउंदछ, लाखौंको लागि उजाड छ यो देश मुट्ठी भरलाई त स्वर्ग छ’ , ‘आमाहरु हो, छोरीहरु हो , बिर छोरा छोरी हो’ जस्ता टुहुरेका चर्चित गित अहिले पनि लोक प्रिय छन् । आमा दिदी बहिनी हो बोलको गीत उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।
सुनसरीको धरान घर भएका जेबि टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । लामो समय जनसांस्कृतिक मञ्चको मञ्चबाट गुन्जीरहेका टुहुरेको एकल प्रस्तुती भने पहिलो पटक आयोजना हुन लागेको आयोजकले जनाएको छ ।


















