काठमाडौं / समाजशास्त्री डा. चैतन्य मिश्रले नीति अनुसन्धान प्रतिष्ठानको संयोजकबाट राजिनामा दिएका छन् । तीन वर्षे कार्यावधि भएको प्रतिष्ठानबाट मिश्रले नियुक्ति पाएको आठ महिनामै राजीनामा दिएका हुन्।
सानो भन्दा सानो कामका लागि पनि अर्थ मन्त्रालयका अधिकारीहरूलाई ‘ज्यू–हजुरी’ गर्नुपरेपछि मिश्रले पदबाट राजीनामा दिएको समितिका सदस्यहरूले जानकारी दिएका छन् ।
प्रतिष्ठानले वरिष्ठ अनुसन्धानकर्ता, अनुसन्धानकर्ता, सहअनुसन्धानकर्ता, विश्लेषक र सूचना तथा ज्ञान व्यवस्थापनविज्ञ नियुक्त गर्न सक्ने गरी विधेयक तयार भएको छ । संयोजक मिश्रले भने अनुसन्धानकर्तालाई निजामती कर्मचारीको स्केल भन्दा बढी तलब दिन चाहेका थिए । तर अर्थ मन्त्रालयका अधिकारीहरूले आफूहरूको भन्दा बढी तलब कसैको हुन नसक्ने तर्क अघि सारेका थिए ।
प्रतिष्ठानमा डा. गणेश गुरुङ, डा. सुरेन्द्र लाभ, डा. मीना आचार्य र डा. राजेन्द्रध्वज क्षेत्री सदस्य छन् । मिश्रको राजीनामा पछि प्रतिष्ठान नेतृत्वविहीन भएको छ ।


















