काठमाडौ, सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई व्यावसायिक इन्टेलिजेन्स संस्थाको रूपमा विकास गरिने जनाएको छ । हाल प्रधानमन्त्रीको मातहतमा रहेको यस निकायलाई अझ प्रभावकारी बनाउनका लागि इन्जेलिजेन्स संस्थाका रुपमा विकास गर्न लागिएको सरकारले जनाएको छ । हाल विभागको प्रभावकारीताको विषयलाई लिएर बेला बेलामा प्रश्न समेत उठ्ने गरेको छ । हालै काठमाडौ उपत्यकामा भएका श्रृंखलावद्ध बम बिस्फोटका घटनामा पूर्व जानकारी दिन असफल रहेको भन्दै विभागको भूमिकाबारे आलोचना भएको थियो । त्यस्तै सरकारले राष्ट्रिय सुरक्षा अन्तर्गत सुरक्षा निकायहरूलाई सबल सक्षम र उत्तरदायी बनाई राष्ट्र्यि सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउनले जनाएको छ ।
त्यस्तै बजेटमा राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गरी राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाइने, राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापना गर्न प्रक्रिया अगाडि बढाइने कुरा पनि उल्लेख गरिएको छ । सीमा सुरक्षा तथा सीमा पार अपराध र तस्करी नियन्त्रणका लागि सुरक्षा इकाईहरुको भौतिक र प्राविधिक क्षमता विस्तार गरिने भएको छ ।
देशको शान्ति सुरक्षालाई सुदृढ तुल्याउदै नागरिकको जीउ धन र सार्वजनिक सम्पत्तीको सुरक्षामा विशेष ध्यान दिइने प्रतिवद्धता सरकारले गरेको छ । नागरिकलाई भयरहित वातावरणमा पेशा व्यवसाय गर्न सक्ने गरी सुरक्षाको अनुभूति गराइने उल्लेख गरिएको छ । तथ्य र वैज्ञानिक प्रमाणमा आधारित अपराध अनुसन्धान र अभियोजन प्रणाली विकास गरिने, अनुसन्धान र अभियोजनमा संलग्न जनशक्तिको क्षमता वृद्धि गरिने लगायतका लक्ष्य सरकारले बजेटमार्फत राखेको छ ।

















