एजेन्सी / यात्राका क्रममा ट्याक्सीमा आफ्नो पर्स, मोबाइल, झोला आदि चिजहरु छुटेको घटना त सामान्य नै हो । तर कोही आमा बुवा यस्ता पनि हुन्छन् जसले आफ्नो बच्चा नै ट्याक्सीमा छोडेका छन् । यो घटना जर्मनीको हो । जहाँ एक दम्पत्तिले ट्याक्सीमा आफ्नो नवजात बच्चा नै छुटाएका छन् ।जर्मनीको ह्याम्बर्ग सहरमा यो अनौठो तथा अविश्वसनीय घटना भएको छ । आफ्नो नवजात शिशु अस्पतालबाट लिएर ट्याक्सीमा घर फर्किँदै गरेका दम्पत्तिले ट्याक्सीवाट ओर्लने बेलामा दुवै जनाले बच्चा लिन विर्सिए । दोश्रो बच्चाको आमाबुवा बनेकोमा उनीहरु निकै उत्साहित थिए ।
उनीहरु ट्याक्सीमा चढेर घर पुगेपछि पति पत्नी मात्र ट्याक्सीबाट बाहिर निस्किए र सरासर घरभित्र लागे । घरभित्र पुगेपछि पो बल्ल उनीहरुलाई आफ्नो बच्चा ट्याक्सीभित्रै छुटेको याद भयो । तब हतारिँदै उनीहरु बाहिर आए । तर त्यतिबेला सम्म ट्याक्सी हिँडिसकेको थियो ।बच्चा ट्याक्सीमा छुटेको खबर गर्न उनीहरु तत्कालै पुलिसकोमा गए । पुलिसले बच्चा ट्याक्सीमा छुटेको सूचना आफ्ना सबै चौकीहरुमा गर्यो ।
उक्त ट्याक्सी चालक ती दम्पत्तिलाई घरमा छाडेर अरु ग्राहक खोज्न एयरपोर्ट तिर लागेछ । धेरैबेर एयरपोर्टमा ट्याक्सी पार्क गरेको बेलामा पछाडि बच्चा रोएको आवाज सुनेपछि मात्र उसले आफ्नो ट्याक्सीमा बच्चा छुटेको थाहा पायो ।ट्याक्सी चालकले तत्कालै पुलिसलाई सम्पर्क गरी आफ्नो ट्याक्सीमा एक दम्पत्तिले आफ्नो बच्चा छाडेको जानकारी गरायो । ट्याक्सीमा हराएको बच्चाको खोजी सुरु गरिसकेको पुलिसका लागि ट्याक्सी चालकको त्यो फोन कलले ठूलो राहत प्रदान गर्यो ।
पुलिसले तत्कालै उक्त ट्याक्सी तथा चालक र बच्चालाई लिएर सोही पुलिस चौकीमा गयो जहाँ बच्चाका आबाबुवा बसिरहेका थिए । त्यहीँ नै ट्याक्सी चालकले आफ्नो ट्याक्सीमा छुटेको बच्चा उसका बाबुआमालाई हस्तान्तरण गर्यो । ती दम्पत्ति आफैले नै सोसल मिडिया मार्फत घटनाको बेलिविस्तार लगाएपछि यसले सनसनी मच्चायो । उनीहरुले सोसल मिडियामा गरको पोष्ट छिटै नै भाइरल बनेको थियो ।


















