सुनसरी / सुनसरीमा दोहोरो नागरिकता लिनेको संख्या बढ्दै गएको छ । सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ।
नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए। भारतको नागरिकता पनि त्यागेका छैनन्। भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर ०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुईतले घर छ। उक्त घर उनकी दिवंगत श्रीमती सुशीलादेवीका नाममा छ। सुशीलादेवीले पनि नेपालको नागरिकता लिएको देखिन्छ।
२०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ। छगनलालले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ।
उनले नेपालमा पनि मतदान गरेको देखिन्छ। १६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेका हुन्। उनले नेपालमा वृद्धभत्तासमेत लिइरहेका छन्।
उनका तीनजना छोरा र उनीहरूका श्रीमतीको समेत दोहोरो नागरिकता देखिएको छ। छगनलालका छोराहरूले पनि नेपालमा वंशजको नागरिकता लिएका छन्। उनका जेठा छोरा रमेशकुमारले पनि भारतीय रासनकार्ड र नागरिकता लिएका छन्।
छगनलाल इनरुवाका प्रतिष्ठित व्यापारी हुन्। इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका छगनलाल रेडक्रस सुनसरी, इनरुवा सत्यनारायण मन्दिरलगायत विभिन्न सामाजिक संस्थामा आबद्ध भएर काम गरेका उनले भर्खरै भारतको राजधानी दिल्लीमा नयाँ फल्याट खरिद गरेको स्रोतले जनएको आजको कान्तिपुरमा खबर छ ।

















