-चन्द्रप्रकाश बानियाँ
मोदी सफल प्रधानमन्त्री होइनन् । चुनाव दोहो¥याएर जित्नु सफलताको मानक होइन । अघिल्लो निर्वाचनमा जनतासमक्ष गरेका वाचा पाँच प्रतिशत पनि पूरा गर्न सकेका थिएनन् । मोदीको राजनीति झुटो प्रोपोगण्डामा आधारित थियो । तैपनि उनले चुनाव दोहो¥याएर जिते । कांग्रेस नराम्रोसँग पराजित भयो । वामपन्थीको विउ नै मासियो । राहुल गाँधीको मुलुक हाँक्ने महत्वाकांक्षाको किशोरावस्थामै हत्या भयो । स्वयं कांग्रेसले मात्र होइन स्वतन्त्र विद्वान, चिन्तक, विश्लेषकहरूको अनुमानले हावा खायो । कांग्रेसको पक्षमा सोचेभन्दा खराब नतिजा आयो । राहुल गान्धीलाई पार्टीको नेतृत्व छोड्न नैतिक दवाव प¥यो । पछिल्लो निर्वाचनपरिणाम हेरेर भारतीय मतदाताहरू पनि नेपालीजस्तै नेताको इमान र क्षमतापरख गर्ने मामलामा कमजोरै रहेछन् भन्नुपर्ने अवस्था आयो । भाजपाले कट्टर हिन्दूवाद र अन्ध राष्ट्रवादको घोडा चढेर निर्वाचनरूपी दौड जित्यो । अर्थात जनताको आधारभूत आवश्यकताको पहिचान र सम्बोधन गरेर होइन जनताको कल्पना र भावनाको मनोवैज्ञानिक शोषण गर्न भाजपाको नेतृत्व सफल भयो । चुनावमा हारजित हुनु थियो, भयो । हारजितको विविध कोणबाट लेखाजोखा भयो तर भारतीय जनताले फेरि पनि मोदीलाई दोहो¥याएर किन जिताए भन्ने कुराको सबभन्दा महत्वपूर्ण पक्षमा भने भारतीय विद्वान विश्लेषकहरू छिरेको देखिएन । वास्तविकता के थियो भने मोदीको पाँचवर्षे कार्यकाल हेरेर जनताले मत दिनुपर्ने ठाउँ थिएन । विजेपीको सरकार जनअपेक्षामा खरो उत्रन नसकेकै हो । तर भारतीय जनमतले विकल्प नै देखेन । कांग्रेसलाई उत्तम विकल्प ठह¥याएन । भारतीय मतदाताको लागि कांग्रेस अपरिचत र नयाँ शक्ति थिएन । दशकौ. दशकको उसको शासन देखी भोगिसकेको थियो । त्यसैले बरु यथास्थितिले कमसेक एउटा निरन्तरता र स्थिरताको वातावरण कायम रहने छ भनेर विजेपीको पोल्टामा जनमत परेको हो । अवश्य, निर्वाचन परिणामलाई प्रभावित पार्ने अन्य सहायक कारण र तत्वहरू पनि रहे होलान् तर निर्वाचन परिणामको मूल कारण त्यहीे थियो ।
नेपालको वर्तमान सरकारले आफ्नो कार्यकालको एकचौथाई अवधि मात्र पूरा गरेको छ तापनि जनतामा असन्तुष्टि र अविश्वास भने चुलिएको छ । सरकारको लोकप्रियताको ग्राफ निरन्तर तल झर्दै गरेको दृश्य हेरेर नेपाली कांग्रेसका नेताहरूले अर्को निर्वाचन जितिन्छ भन्न थालेका छन् । प्रतिपक्षले भन्ने कुरा त्यही हो । अर्को पटकको आशा नै पार्टी कार्यकर्ताको उत्साह जीवित राख्ने संजीवनी बुटी हो । पार्टी समर्थक र शुभचिन्तकलाई थमाउने साधन नै त्यही हो । जित्ने सम्भावनै नरहे पनि जितिन्छ भन्नैपर्छ । तर यतिखेर काँग्रेसको बोलीमा आत्मविश्वासको झलक देखिन्छ । आफूले गर्न केही नसके पनि कम्युनिष्ट सरकारको असफलतामा आफ्नो समुज्वल भविष्य देख्नुलाई अस्वाभाविक नमानिएला ! भोलि के होला भनेर अहिल्यै अनुमान गरिहाल्नु हतारो हुन्छ तर अहिलेसम्मको स्थितिमा नेकपाको विकल्प भनेको कांग्रेस नै हो । तेस्रो प्रतिद्वन्दी तयार भैसकेको छैन । त्यसैले नेपाली कांग्रेसका नेताहरू आशावादी बन्नुलाई अन्यथा मान्नु पर्दैन ।
अर्को विचारणीय पक्ष पनि छ । न नयाँ नीति, न नयाँ नेतृत्व ! उही पुरानोवासी विचार र थाकेको नेतृत्व लिएर मैदानमा उत्रने कांग्रेसले समरविजय हात पार्ला भनेर पत्याउन गाह्रो छ । युद्धले सधै नयाँ कौशल र नयाँ प्रविधिको माग गर्छ । हिटलरले विश्वविजयको सपना धनुकाँड र भालाजस्ता आदिम हतियारको भरमा देखको थिएन । समयसापेक्ष नयाँ आयुधास्त्रबाट आफ्नो सेनालाई सुसज्जित बनाएको थियो । यतिखेर आफूलाई शस्त्रास्त्रबाट सुसज्जित गर्ने चेष्टा कांग्रेसले गरेको देखिदैन । वैचारिक र सांगठनिक रूपमा नविकृत हुनुपर्ने आवश्यकता देखेजस्तै लाग्दैन । रुखको टुप्पोमा बसेको बबुन आफै भूईमा खस्ला र पेट भरुँला भनेर ढुक्ने बुढो सिंहजस्तो भएको छ नेपाली कांग्रेस ! जनताको चाहना के हो, मुलुको आवश्यकता के हो, जनतामा कुन कारणले सरकारप्रति असन्तुष्टि निरन्तर बढिरहेको छ ? नेकपाको सरकारप्रति जनताको अविश्वास चुलिदै जानुको कारण के हो र त्यसको समाधान आफूले कसरी दिन सकिन्छ भन्ने कोणबाट कांग्रेसले सोचेको देखिदैन । नयाँ कार्यक्रम सहित जनताकोबीचमा पुग्नुपर्ने आवश्यकताबोध गरेको पनि देखिदैन । वास्तवमा कांग्रेसको अपेक्षा “झर्ला र खाउँला” भन्ने हैसियतमै छ भन्नु बढी हुदैन ।
नेकपाको वर्तमान सरकारको गतिमति हेर्दा यो भन्दा उन्नत परिणामको आशा गर्ने ठाउँ देखिएन । यसले समातेको बाटो पतनकै हो । तर झरेको आँप कांग्रेसकै पोल्टामा पर्छ भन्न भने सकिदैन । कैयौं फलहरू पाकेर झर्ने होइन, रुखमै सुक्ने पनि गर्छन् । कतै कांग्रेस पोल्टो थापेको थाप्यै हुने, नेकपाको अकर्मण्यताको फल रुखमै सुक्ने पो हो कि ? भारतीय निर्वाचन परिणामले त्यस्तो सम्भावनालाई नकार्न नसकिने बनाएको छ । भारतीय जनता पार्टीको सरकार असफल रहे पनि जनमतरूपी फल रुखमै अल्झियो । भारतीय कांग्रेसको पोल्टामा परेन । नेपालको स्थिति पनि त्यस्तै नहोला भन्न सकिन्न । किनकि नेपाली कांग्रेसको विगत उति आकर्ष रहेको होइन । नेकपाको सरकार असफल भए पनि नेपाली जनमतले कांग्रेसको भरोसा गरिहाल्छ भन्न सकिदैन । त्यसो हो भने परिणाम के होला त भनेर सजिलै अनुमान गर्न सकिन्छ । फेरि पनि चुनावी परिणााम नेकपाकै खातामा जम्मा हुनेछ । नेकपाले आफ्नो कारणले होइन कांग्रेसप्रतिको जनरुचिको परिणामस्वरूप विजयलाभ गर्नेछ ।
आवधिक निर्वाचन आउन अझै दिव्य तीनबर्ष बाँकी छ । वर्तमान सरकार आन्तरिक विग्रहबाहेक अन्य कारणबाट असमयमै पतन हुने सम्भावना छैन । जति नै अलोकप्रिय भए पनि पूर्णावधि टिक्ने छ । त्यसैले अल्यिैदेखि चुनावको चर्चा गर्नु प्रसाङ्गिक हुनेछैन तर जनता भने सरकारसँग बिच्किसकेका छन् । सरकार नामको जिनिस जनतालाई टट्टाउन थालिसकेको छ । अबको चुनावमा गल्ती नगर्ने कुरा बाक्लै सुनिन थालको छ तर सडक चौतारीमा सुनिने गफकै भरमा सुतेर बस्नेहरूले निर्वाचनमा अपेक्षित नतिजा ल्याउन सक्ने छैनन् । सरकारप्रति आजको शहरी मतदाता जुन मात्रामा असन्तुष्ट देखिएको छ, गाउँको अवस्था त्यस्तो छैन । गाउँले जनताहरूको अपेक्षा धेरै ठूला हुदैनन् । धारा, कुलो, गौडो, स्कूल, गोरेटा र डोजरमै गाउँका जनता भुल्छन् । स्थानीय सरकारले वडापिच्छे वितरण गर्ने ससाना योजना र रकमले जनतालाई पूरै सन्तुष्ट गराउन नसके पनि पूरै असन्तुष्ट रहन दिँदैन । पाँचवर्षको अवधिमा हरेक गाउँटोलहरूमा त्यस्ता एक दुई योजनाहरू अवश्य पुग्नेछन् । त्यसमाथि सांसदहरूमार्फत जाने रकमले पनि गाउँलेहरूको मुख टाल्ने काम गर्छ । अर्थात जनमत सत्ताको पक्षमा टिकाइरहन स्थानीय सरकारकारहरू नै पर्याप्त हुनेछन् ।
हो, शहरबजारमा बस्ने मतदाताहरू भने सत्ताको विपक्षमा उभिनसक्ने देखिन्छ । शहरको समस्याले नयाँ विकल्पहरू खोज्ने छ । तर नेकपासँग रुष्ट हुने शहरीया मतदाताको रोजाईमा कांग्रेस पर्ने छैन । त्यसो हुनुपर्ने कारण छैन । किनकि कांग्रेसको विगत पनि उति उज्यालो छैन । भरोसालाग्दो छैन । अपरीक्षित पनि होइन । पटक पटकको परीक्षणमा असफल भएकै हो । त्यसैले फेरि पनि पञ्चायतकालीन “नानी मैया” हरू अगाडि आउने सम्भावना रहनेछ । त्यसको पूर्वाभ्यास अर्थात छनक रञ्जु दर्शना, किशोर थापा, रविन्द्र मिश्रहरूले पछिल्लो निर्वाचनमा देखाइसकेका छन् । ती सबै पात्रहरू असल भएको कारणले जनताको मत पाएका होइनन् । उनीहरूका कार्यक्रमहरूले मतदाताहरूलाई आकर्षित गरेको होइन । त्यो त संस्थापन अर्थात परम्परागत राजनीतिक शक्तिप्रतिको वितृष्णाको प्रतीक मात्र हो । जनअसन्तुष्टिको विलक्षण अभिव्यक्ति मात्र हो । निश्चय नै आगामी निर्वाचनमा जनताको असहमति र असन्तुष्टि, वितृष्णा र अविश्वासको अभिव्यक्ति त्यस्तै डमी पात्रहरूमार्फत अभिव्यक्त हुनेछ । आँट गरे भने डा.सुरेन्द्र केसी, ज्ञानेन्द्र शाही, डा.सुरेन्द्र भण्डारी, डा. सुन्दरमणि दिक्षितहरू मात्रै होइन, रत्नपार्कको चर्चित “मुकुन्दे.”लाई पनि काठमाडौले आफ्नो प्रतिनिधिको रूपमा छान्यो भने आश्चर्य नमान्दा हुन्छ । -जनधारणा साप्ताहिक

















