बीपीको परिकल्पनाको समाजवाद र आजको नेपाली कांग्रेस

307

प्रीति रमण

बीपी कोइराला भन्ना साथ नेपाली कांग्रेसको राजनीतिक आदर्शको त्यो महान व्यक्तित्व भनेर बुझिन्छ, जसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको राजनीतिक कार्यदिशा नेपालको मडारिएको राजनीतिमा छोडेर गए । बीपी कोइराला पछिको नेपाली कांग्रेस गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई बाँचुन्जेलसम्म थोरै आशा लाग्दो देखिन्थ्यो । तर यी दुवै नेताहरूको निधन पछि र अघि पनि लामो समयसम्म पार्टीको बागडोर सम्हालेका र सत्ताको बागडोर पनि सम्हाल्ने अवसर पाएका नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोइरालाले गर्दा नेपाली कांग्रेसको गन्तव्य बीपीको कार्यदिशाबाट बिचलित भएको देखिन्छ ।

बीपी कोइरालाले समाजवादलाई राजनीतिक अधिकार वा शक्ति प्राप्त गर्ने माध्यम मात्र होइन भनेर स्पष्ट शब्दमा भन्नु भएको मैले कतै पढेकी थिएँ । हुन त म व्यक्तिगत रूपमा नेपाली कांग्रेसको राजनीतिबाट कहिले पनि प्रभावित हुन सकिन । तर पनि बीपी कोइरालाको व्यक्तित्वबाट मैले राजनीतिबारे नबुझ्दैदेखि नै प्रभावित हुँदै आएकी छु । बीपी कोइरालाले भन्नु भए झैँ आजको नेपाली कांग्रेस राजनीतिक अधिकार वा शक्ति प्राप्तिलाई नै सबैभन्दा ठूलो कुरा ठान्न पुग्दा कांग्रेस विचलनतर्फ गएजस्तो मेरो बुझाइ छ । बीपी कोइरालाले समाजवादलाई जुन रूपमा विश्लेषण गर्न चाहनु भएको थियो , त्यस रूपमा आजको कांग्रेसको नेतृत्वले आत्मसात गर्न खोजेको पाइँदैन । बीपीले समाजवादका लागि आर्थिक उन्नतिको आवश्यकतालाई जोड दिनुभएको थियो । नेपालको आर्थिक उन्नति कृषिले मात्र हुँदैन । त्यसका लागि देशमा औद्योगिक विकासको आवश्यकता पर्छ भन्ने कुरामा बीपीको जोड थियो । यहीनेर समाजवादलाई प्राप्त गर्ने कुरामा बीपी कोइरालाले राजनीतिक स्वतन्त्रतालाई महत्वपूर्ण स्थानमा राख्नु भएको थियो ।

बीपी कोइरालाको दूरदर्शी चिन्तनका आधारमा भन्ने हो भने वर्तमान नेपालको राजनीतिक परिवर्तन समाजवादको गन्तव्यका लागि आधार तयार भएको मान्नु पर्दछ । राजनीतिक स्वतन्त्रता देशमा प्राप्त भएको छ, राजनीतिक दलहरूले बहुमतको सरकार समेत देशमा बनाउने अवसर पाएका छन्, जुनसुकै राजनीतिक दलको आवरणमा सत्तामा पुगेका भएपनि वर्तमान राजनीतिक प्रणाली बीपी कोइरालाले परिकल्पना गरेजस्तो प्रणाली नै रहेको छ । यस राजनीतिक प्रणाली अन्तर्गत सत्तामा पुगेर जुनसुकै पार्टीले पनि समाजवादको गन्तव्यलाई पछ्याउन चाहने हो भने बीपीले भने झैं औद्योगिककरणको विकास र कृषिमा आधनुनिकीकरण जरुरी हुन्छ । नेपाली कांग्रेसको वर्तमान नेतृत्व हालका दिनहरूमा सत्तामा नपुगेको भएपनि बीपी कोइरालाको राजनीतिक आदर्श सत्तामा पुगेको अवस्था विद्यमान छ ।

नेपाल कम्युनिष्ट पार्टीको नाममा सत्तामा पुगेको भएपनि सत्ताबाट संसदीय व्यवस्थाको विरुद्ध जान खोजेको कुनै संकेत पाइँदैन । तर वर्तमान सत्ता कृषिमा आधुनिकीकरणतर्फ र देशमा उद्योगहरूको विकास गर्नेतर्फ क्रियाशील देखिदैन । साथै जनताको जनजीविकाको सवाल र राष्ट्रिय स्वाधीनताको सवालमा पनि वर्तमान सरकार अन्योलग्रस्त अवस्थामा देखिन्छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षीदलको हैसियत नेपाली कांग्रेस पार्टीसंग रहेको छ । कांग्रेस पार्टीले बीपी कोइरालाका राजनीतिक आदर्शलाई पछ्याएर वर्तमान सत्तालाई खबरदारी गर्न सक्ने हो भने वर्तमान सरकारलाई सही मार्गमा लाग्न बाध्यता पनि हुने देखिन्छ ।

पाँच वर्षको म्याण्डेट पाएको वर्तमान नेकपाको सरकार आफनो राजनीतिक आदर्श अनुसार चल्न सक्ने अवस्थामा छैन । वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टीले परिकल्पना गरेको राजनीतिक व्यवस्था भनेको साम्यवाद नै हो । साम्यवादको प्रस्थानविन्दूका रूपमा उनीहरूबाटै अर्थ लगाउने गरिएको समाजवाद र नौलो जनवाद पनि उनीहरूको जनता झुक्याउने माध्यम मात्र हो भन्ने कुरा अब स्पष्ट भइसकेको छ । कारण स्पष्ट छ, वर्तमान भद्रगोल अवस्थालाई नै उनीह्रूले नौलो जनवादी व्यवस्था भनेर व्याख्या गर्न थालेका छन् । वर्तमान संविधानमै समाजवादलाई गन्तव्य बनाइएको हुनाले बीपी कोइरालाले परिकल्पना गरेको समाजवाद र वर्तमान सत्ताले समृद्ध नेपाल निर्माणका लागि कार्यदिशा बनाएको समाजवादको गन्तव्य फरक हो वा एउटै किसिमको हो ? यो विषयमा नेपाली कांग्रेसको वर्तमान नेतृत्वले जिम्मेवारीपूर्वक बहस चलाउन जरुरी छ ।

बीपी कोइरालाको जन्मजयन्ती मनाएर मात्र राजनीतिक उद्धेश्य प्राप्ति हुँदैन । बीपी कोइरालाका राजनीतिक आदर्शहरू पछ्याएर देशमा आर्थिक रूपान्तरण गर्न नेपाली कांग्रेसको वर्तमान नेतृत्वले पार्टी पंक्तिलाई प्रशिक्षित गर्न जरुरी छ । राष्ट्रियताको सवाल निकै जटिल मोडमा पुगेको भन्दै सबै राजनीतिक दलहरूबाट चिन्ता व्यक्त गरेको पाइन्छ । बीपी कोइरालाको राष्ट्रियताबारेको दृष्टिकोण वर्तमान नेपाली कांग्रेसको नेतृत्वले कार्यकर्ता पंक्तिमा बुझाउन जरुरी छ । प्रजातन्त्र अर्थात राजनीतिक स्वतन्त्रता प्राप्त भइसकेको वर्तमान अवस्थामा देशलाई समृद्ध तुल्याउन समाजवादको गन्तव्य पछ्याउनु नै बीपी कोइरालाको राजनीतिक गन्तव्य हो ।

सामन्ती व्यवस्थाको अन्त्य र जमिनमा काम गर्ने किसानहरूलाई जमिनमाथिको स्वामित्व कायम गर्ने परिकल्पना बीपी कोइरालाको थियो । देशको आर्थिक विकासका लागि प्राथमिक कदमका रूपमा बीपीले व्याख्या गर्नुभएको यस्तो दृष्टिकोण मैले बाल्यकालमै पढेकी थिएँ । यसैबाट पनि बुझ्न सकिन्छ बीपी कोइरालाको दृष्टिकोणलाई आजको नेपाली कांग्रेसले बिल्कुलै पछ्याउन सकेको छैन । देशमा सामन्तवादको अन्त्य गर्न राजसंस्था अन्त्य गरेर मात्र सम्भव हुने रहेनछ भन्ने कुरा गणतन्त्र प्राप्ति पछिका वर्षहरूले सामन्तवादको भग्नावशेषको तीतो अनुभव गराइरहेको अवस्था छ । राजसंस्थाले देखाएका सामन्ती चरित्रका व्यवहारहरू वर्तमान गणतन्त्रमै देखिएका छन् भने राष्ट्रियताको प्रश्नमा राजसंस्थाले जत्तिको बलियो उपस्थिति गणतन्त्रले देखाउन सकेको अवस्था छैन । त्यसैले पनि देशमा सामन्तवादको अन्त्य पनि भएको छैन र राष्ट्रियता पनि जटिल मोडमा पुगेको अवस्था छ । यस्तो अवस्थालाई केवल राजनीतिक स्वतन्त्रता प्राप्त भएको भनेर खुशीयाली मनाइरहनुपर्ने कुनै कारण देखिदैन । सत्तामा व्यक्ति परिवर्तनले राजनीतिक आन्दोलन सम्पन्न भएको मान्न सकिदैन । बीपीको परिकल्पना यस्तो अवश्यै थिएन ।

बीपी कोइरालाले जनतालाई रैतिबाट नागरिक बनाउने परिकल्पना गरेका थिए । तर आजको नेपाली कांग्रेसले जनतालाई नागरिक कसरी बनाउने भन्ने दृष्टिकोण नै बनाउन सकेको छैन । प्रमुख प्रतिपक्षीको हैसियतबाट सत्तापक्षका कमजोरीहरूको जगमा टेकेर राजनीति गर्न आजको जति सजिलो अवस्था हिजो बीपी कोइरालालाई थिएन । गणतन्त्रमा राजनीतिक स्वतन्त्रताको सदुपयोग गरी जनतामा परिवर्तनको अनुभूति दिलाउन सकिएन भने जनताले यस्तो गणतन्त्रको विकल्प पनि खोज्न सक्नेछन् भन्ने बुझ्न जरुरी छ ।-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here