काठमाडौं : आइतबार ललितपुरबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले छाड्ने तयारी गरेको छ । आइतबार साँझदेखि ललितपुर प्रहरीको हिरासतमा रहेका ज्ञानबहादुर शाही भनिने ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलनमै प्रहरीमाथि दुर्व्यवहार गरेका थिए ।
शनिबार साँझ नेपालगन्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेको विषयमा शाहीले आइतबार पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलनमै सहभागीले शाहीमाथि हातपात गरेपछि सुरक्षाका लागि गएको प्रहरीमाथि शाहीले दुर्व्यवहार गरेका थिए ।
नेपालका लागि नेपाली’ नामक अभियान सञ्चालन गरेर भ्रष्टाचार विरुद्ध कार्यक्रम गर्दै आएका शाही नेपालगञ्ज विमानस्थलमा भएको विवादपछि चर्चामा रहेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘‘उहाँलाई सम्झाइबुझाइ गरेर छाड्ने तयारीमा छौं । यसका लागि प्रमुख जिल्ला अधिकारीज्यूसँग छलफल गर्दैछौं । आउँदा दिनमा कार्यक्रम गर्दा व्यवस्थित तरिकाले गर्न र असल व्यवहार प्रस्तुत गर्न भनेका छौं । आवश्यक प्रक्रिया पूरा गरे आजै छाड्ने हाम्रो तयारी छ ।’’
नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने शाही लाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेका छन।
युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो । तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप समेत लगाइएका छन् ।















