बाग्लुङ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएको जनाएका छन् । बाग्लुङको बुर्तिवाङमा आयोजित चुनावी सभालाई आज दिउँसो सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् । ‘दुईटा अध्यक्षले कता कता जोड दिने भन्ने पनि टुङ्ग्याएका छौं । एउटाले सरकारमा जोड दिने र एउटाले पार्टीमा जोड दिने भन्ने पनि टुङ्ग्याएका छौं ।’ अध्यक्षले पार्टीमा अब कुनै पनि भ्रम नभएको र अब बाटो सफा भएको धारणा राखे ।
अध्यक्ष दाहालले राष्ट्रको एकता, स्वाधिनता र भौगोलिक अखण्डता कायमा गर्नका लागि नेपाली जनताको एकता भन्दा ठूलो तागत अरु केही पनि नहने प्रष्ट पारे । ‘राष्ट्रका लागि अनवरतरुपमा संघर्ष गर्दै आएका कम्युनिष्टहरुको एकता राष्ट्रमा अरु केही पनि हुँदैन ।’ उनको धारणा थियो । यही जिम्मेवारीलाई राम्रोसँग महशुस गरेर नै पार्टी एकता गरेको जनाउँदै सानो चित्तले एकता नभएको धारणा राखे।
उनले भने ‘राष्ट्रको वृहत्तर हितको निम्ति र नेपाली जनताको समृद्धि र विकासको आकांक्षालाई सम्बोधन गर्ने तागत पैदा गर्नको लागि एकता पैदा गरिएको हो । यो वाम गठबन्धन पनि त्यहि एकताको कडीका रुपमा हामीले बुझेका छौं ।’ पार्टी नेतृत्वले यहाँका पार्टीका साथीहरुलाई कुनै आशंका नराखीकन वाम गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन अगाडि बढ्नु पर्ने बताए । पार्टी एउटा निश्चित बिचारबाट चलेको हुन्छ भन्दै उनले त्यसका निश्चित उद्देश्य हुने धारणा राखे ।
नेपालमा सिमानाका समस्या पुराना समस्याका रुपमा छन् भन्दै उनले कालापानी र सुस्ताको समस्या जटिल र गम्भीर प्रकृतिको भएको भन्दै अहिले भारतले प्रकाशित गरेको नक्शामा कालापानी क्षेत्र, लिपुलेक, लिम्पुवाधुरा सम्मको भूभाग भारतमा देखाइएको मान्य नहुने जनाए ‘हामीले सुरुमै भन्यौं, यो हामीलाई मान्य छैन, यसको निम्ति हामी जुनसुकै किसिमको पहलकदमी लिन पनि तयार छौं । सरकारले त्यहि कुरा भनेको छ । अहिले राष्ट्र एकतावद्ध छ, जनता एकतावद्ध छन् ।’ उनले भने ।


















