– राज्यलक्ष्मी शाक्य
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म महिला हिंसाविरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान मनाइने गरिन्छ । अहिले मुलुकमा महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । यो अवसरमा विभिन्न संघसंस्थाले थुप्रै कार्यक्रम सञ्चालन गर्छन्, जसले महिलामाथिको हिंसा रोक्न र महिलाका हकहितका सवालहरूलाई उठाउन सहज गर्ने अपेक्षा गरिन्छ । यस अभियान लगायत महिलाकै क्षेत्रमा काम गर्ने विभिन्न एनजीओ तथा आईएनजीओ पनि मुलुकमा सञ्चालनमा छन् । उनीहरूले पनि वर्षैभरि महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएका छन् । तर, यति हुँदाहुँदै पनि मुलुकमा महिला हिंसाका घटना घट्न छोडेका छैनन् । महिलामाथि विभिन्न कुरीति र गलत परम्पराका आधारमा अझै ज्यादती हुन सकेको छैन । न त महिलाहरू नै त्यस्ता गलत परम्पराहरूलाई त्याग्न सकिरहेका छन् । यसले के हाम्रो महिला हिंसाविरुद्धको अभियान सफल भइरहेको त छ ? भन्ने प्रश्न खडा गरेको छ ।
पंक्तिकारले आज महिला हिंसाविरुद्धको अभियानबारे सवाल उठाउनुको कारण हो, हालै मात्र यस्तै कुरीतिका कारण एक महिलाले अनाहकमा ज्यान गुमाउनु परेको छ । केही दिनअघि मात्र अछामको साफेबगर नगरपालिका ३ डिक्रेनीमा एक महिलाको छाउपडी गोठमा ज्यान गएको छ । २१ वर्षीया पार्वती रावतको ज्यान गएको हो । घरभन्दा करिब १०० मिटर टाढा रहेको गोठमा ज्यान उनको गएको छ ।
गोठमा आगो बालेकाले निस्सासिएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । बिहान घरमा नआएपछि जेठाजु छत्र रावतले बोलाउँदा नबोले पछि गोठको ढोका फोडेर भित्र हेर्दा उनी मृत भेटिएकी हुन् । महिनावरी भएको ४ दिनमा उनको मृत्यु भएको हो । उनका श्रीमान करन रावत रोजगारीका लागि भारतमा छन् । मृतकको माइती घर मेल्लख गाउँपालिक ७ नन्देगडा हो । आइतबार साँझ खाना खाएर सुतेकी रावत सोमबार बिहान मृत भेटिएकी हुन् । हालसम्म अछाममा मात्रै १५ जनाभन्दा बढीको गोठमै ज्यान गइसकेको छ । मुलुकको मध्यपश्चिमी पहाडी जिल्लाहरूमा विवाहित महिलालाई ६ दिन र अविवाहितालाई ७ दिनसम्म गोठमा राख्ने चलन छ ।
छाउगोठका कारण थुप्रै महिलाले ज्यान गुमाउनु परेको तथ्य हामीसामु छिपेको छैन । यसका लागि विभिन्न अभियान सञ्चालन नभएका पनि होइनन् । आफ्नो ज्यान जानसक्ने थाहा पाएर वा नपाएर पनि यस्ता परम्परा मान्न किन महिला विवश त छन् त ? यसको प्रश्न खोज्नुपर्ने बेला आएको छ । यतिका अभियान सञ्चालन गर्दा पनि महिलाहरू किन सचेत हुन सकेका छैनन्, विकृतिका पर्खालहरू किन भत्किन सकेका छैनन् ? यसबारे पनि अब अभियानकर्मीहरूले गम्भीर समीक्षा गर्न आवश्यक छ ।
छाउगोठ मात्र होइन, दाइजो, बलात्कार, घरेलु हिंसा लगायतका कारण पनि महिला वर्षौंदेखि पीडित छन् । उनीहरूले पुरुषसमान शिक्षा, स्वास्थ्य सुविधा, समान अवसर केही पनि पाउन सकेका छैनन् । मुलुकमा विभिन्न शासनव्यवस्था फेरिए पनि महिलाको अवस्था भने ज्यूँका त्यूँ नै छ । महिलाको नाममा र कोटामा नेता बन्नेहरू पनि पुरुषसत्तात्मक व्यवस्थाको नै दास बनेका छन् । उनीहरूले महिलाका समस्यालाई उजागर गर्ने र सरकारलाई दबाब दिने र महिलाका समस्या निराकरण गर्नेतर्फ ठोस काम गर्न सकेका छैनन् । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार विश्वभर ३५ प्रतिशत महिला तथा किशोरी आफ्नो जीवनकालमा कुनै न कुनै रूपमा शारीरिक र यौनिक हिंसामा पर्ने गरेका छन् । संसारभर १० मध्ये ७ महिला तथा किशोरी यौन हिंसामा पर्छन् । पछिल्लो समय महिलामात्र नभई पुरुष पनि यौनजन्य हिंसामा पर्ने गरेको घटनाहरू सार्वजनिक हुने गरेका छन् ।
यस्ता घटनालाई हटाउन महिलासँगै पुरुषको पनि सहभागिता आवश्यक देखिन्छ । यसरी महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै गर्दा अभियानको केन्द्र काठमाडौं मात्र हुने गरेकोमा यसैलाई देशभर फैलाउन पनि आवश्यक छ । यसका साथसाथै सरकारले पनि महिला हिंसाका घटनामा दोषीलाई कडा र छिटोभन्दा सजायको व्यवस्था गर्न जरुरी छ । – [email protected] – जनधारणा साप्ताहिक

















