काठमाडौं – नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव हुन नदिन नियमित रक्तदाता (स्वयसेवी) लाई तम्तयारी रहन भनेको छ । अहिले लकडाउनका कारण रगतको खासै माग नभए पनि रेडक्रसले उपत्यकामा रहेका नियमित रक्तदाता स्वयम्सेवीलाई तम्तयारी रहन भनेको हो ।
यसैगरी शुक्रबार भक्तपुरमा ३० युनिट सङ्कलन भएकामा ३० युनिट वितरण र ललितपुरमा ११ युनिट सङ्कलन भएकामा १४ युनिट वितरण गरिएको छ । रेडक्रसले प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बालअस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान अस्पताललगायत ठूला अस्पतालमा रक्तसञ्चार एकाइ रहेकाले आफैँ बिरामीलाई चाहिँ रगत बिरामीका आफन्तबाट लिइरहेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा.मनिता राजकर्णिकारले दैनिक रगत अभाव हुन नदिनका लागि ठाउँठाउँमा मोबाइल टोलीले गएर रगत सङ्कलनसमेत गरिरहेको जानकारी दिए । उनले रगतको माग धेरै नभएकाले रगत सङ्कलन पनि समूह क्लबले बोलाएको अवस्थामा मात्र गरिएको बताए । ‘टोलटोलबाट युवा क्लब, समूहले बोलाएको बेला गाडीले लिएर सोही ठाउँमा गएर रगत सङ्कलन गरिरहेको छौँ’, उनले भने, ‘हिजोमात्र करीब ४० युनिट रगत सङ्कलन भयो ।’
कोही रक्तदाता आफैं नै रक्तसञ्चार सेवा केन्द्रमा पुगी रगत दिने गरेका छन् । उनका अनुसार हिजो केन्द्रमा आएर १७ जनाले रगत दिएका थिए र आज पनि लगनखेलतिर गएर रगत सङ्कलन गरिने जानकारी दिए । सञ्चार सेवाले कोभिड–१९ को सङ्क्रमण नहोस् भनेर रक्तदाता सबै परीक्षण गरेर मात्र रगत सङ्कलन गरिएको छ । – शरद शर्मा
रासस


















