बेलायतमा कोरोनाबाट एक दिनमा ६ सय ८४ को मृत्यु, ७ नेपालीमा संक्रमण

132
एजेन्सी – बेलायतमा एकै दिनमा ६ सय ८४ जना व्यक्तिले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। शनिबार बिहान ९ बजे दिइएको जानकारी अनुसार विगत २४ घन्टाभित्र यति धेरैले ज्यान गुमाएका हुन्।

 

बेलायतमा अहिले ३८ हजार १ सय ६८ जनामा संक्रमण प्रमाणित भएको छ भने ३ हजार ६ सय ५ जनाको मृत्यु भइसकेको छ। फेबु्रअरी १५ मा पहिलो पल्ट एकजनामा संक्रमण देखिएकोमा त्यसपछि यसको ग्राफ चुलिँदो छ। मार्च १४ मा मात्र पहिलो पल्ट कोरोना संक्रमितको मृत्यु भएको आधिकारिक पुष्टि भएकोमा अप्रिल ३ सम्म आइपुग्दा साढे तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

गत २४ घन्टामा मात्र ६ सय ८४ संक्रमितको मृत्यु भएको हो। यद्यपि, समयमै सजगता अपनाएकाले यो ग्राफ नियन्त्रणबाहिर गइ नसकेको दाबी यहाँको सरकारको छ।

चीनमा करिब चार महिनाअघि देखिएको कोरोना भाइस (काभिड-१९) अहिलेसम्म विश्वका २०५ देशमा फैलिसकेको छ। विश्वभरिमा ११ लाख १९ हजार ७ सय ४४ जना कोराना संक्रमितको पुष्टि भइसकेको छ भने पुष्टि नभएकाहरुको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ। २ लाख २९ हजार ३ सय ३८ संक्रमित पुनः स्वस्थ भइसकेका छन्।

यहाँको स्वास्थ्य सेवा विभाग नेसनल हेल्थ सर्भिस (एनएचएस) ले सबैलाई घरमै रहन अनुरोधसहित निर्देशन जारी गरेको छ। पूर्ण रुपमा ‘लकडाउन’ नगरिएको भए पनि दुई जनाभन्दा बढी जम्मा हुन नपाइने र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरेकाले सँधैँजसो व्यस्त रहने लन्डन सुनसान छ। अस्पतालमा संक्रमितको चापलाई मध्यनजर राख्दै घरमै रहन र भाइरसको शंका लागेमा फोन या अनलाइनमार्फत् जानकारी गराउन निर्देशन दिएको छ। टेलिफोनबाटै आवश्यक परामर्शपछि आवश्यक परे घरमै आएर जाँच गर्ने र स्वास्थ्य अवस्था असामान्य नभएसम्म घरमै ‘आइसोलेसन’ मा बस्न निर्देशन दिइएको छ।

करिब ३ लाख नेपालीको बसोबास भएको अनुमान गरिएको बेलायतमा कतिजना संक्रमित छन्, कति जना उपचार गराइरहेका छन् र, कतिजना पुनः स्वस्थ भइसकेका छन् त्यसको यकिन तथ्याङ्क सार्वजनिक भइसकेको छैन। नेपाली दूतावास लन्डन स्रोतका अनुसार हालसम्म ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गत साता मात्र कोरोना भाइरस संक्रमणका कारण दुईजना नेपालीको मृत्यु भएको जानकारी आएको थियो भने २ जना नेपाली उपचारपश्चात् सामान्य अवस्थामा घर फर्किसकेका छन्।

कोराना संक्रमणलाई कम गर्न बेलायत सरकारले कोरोना संक्रमणको जाँच गर्नुभन्दा पनि यसलाई फैलिन नदिन र अस्पतालमा चाप कम गर्न सकेसम्म घरमै बसाउने रणनीति लिएको छ। कोरोनाको लक्षण देखिएमा पनि घरमै रहन र अवस्था गम्भीर भएमा मात्र अस्पतालमा लैजाने रणनितीका कारण पनि नेपालीहरु बाहिर आएको तथ्याङ्क भन्दा धेरै बढी हुने अनुमान गरिएको छ।

नेपालीहरुको उच्च बसोबास रहेको अल्डरसट, प्लमस्टिड क्षेत्रमा विशेष सजगता अपनाउनुपर्ने देखिएको बताउँछन् यहाँका जानकार। खासगरी एउटै घरमा धेरै जना मिलेर बस्ने हुँदा कुनै एक ब्यक्तिको लापरबाहिले घर भरिका सबैमा संक्रमण फैलिन सक्ने हुँदा नेपालीहरुमाझ त्रासको वातावरण बनेको छ। अझै पोर्चुगलमा एकै फ्ल्याटमा बस्ने सातजना नेपालीलाई संक्रमण भएको समाचारले थप त्रसित बनेको छ यहाँको नेपाली समुदाय।

नेपालीमाझ सूचना फैलाउने र मनोबल बढाउने उद्देश्यले एनआरएनले विज्ञहरुसँग विशेष लाइभ कार्यक्रम भइरहेको छ। यसको प्रभावकारितालाई हेरेर थप कार्यक्रम ल्याउन सक्ने एनआरएन युकेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here