उच्च स्रोतले दिएको जानकारीअनुसार वैशाख ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आफूलाई न्यून धरौटी रकममा छुटाउनका निम्ति अग्रवालले सेटिङ मिलाइरहेका छन् । थर्मल गनको कालोबजारी गर्दैगर्दा प्रहरीको ‘स्ट्रिङ अप्रेसन’मा रङ्गेहात समातिएका उनी अहिले महानगरीय प्रहरी परिसरको हिरासतमा छन् । उनलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडांैंले दिएको अनुमतिको म्याद आज आइतबार अर्थात् वैशाख ७ गते सकिँदै छ । सोही दिन न्यून रकम धरौटी बुझाएर छुट्नका निम्ति अग्रवालले ‘साम, दाम, दण्ड, भेद’को नीति अख्तियार गर्दै सेटिङ मिलाएको स्रोतले जनायाे ।
कारबाहीबाट जोगिनका निम्ति शुरूदेखि नै कानुनको लुप्त प्वाल प्रयोग गर्न अग्रवाल सफल भएका थिए । प्रहरीलाई प्रलोभन र दबाबमार्फत मुद्दालाई कमजोर बनाउन केही हदसम्म सफल भएका अग्रवाल अहिले सजाय कम गराउन आर्थिक चलखेलका साथै राजनीतिक दबाब र ‘इमोस्नल ब्ल्याकमेलिङ’ गर्दै आएको अनुसन्धानमा संलग्न अधिकारीलाई उद्धृत गर्दै स्रोतले बतायो ।
स्रोतले भन्यो– ‘उनी अहिले प्रहरी अधिकारीहरूसँग म अर्बपति मान्छे १० हजार रुपियाँमा लोभिएँ, पहिलोपटकमा नै फसें, म मद्यपान धुम्रपानसमेत नगर्ने शाकहारी व्यक्ति दशा लागेर फसें, एकपटकलाई कारबाहीबाट जोगाउनुप¥यो भन्दै अनुसन्धान अधिकारीसँग इमोस्नल ब्ल्याकमेलिङ गर्ने, नभए, आर्थिक प्रलोभन देखाउने, राजनीतिक दबाबसमेत दिने काममा लागेका छन् ।’
अग्रवालले यो रणनीति जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि प्रयोग गरिरहेको स्रोतको धारणा छ । ‘अफिसियल्ली नभए पनि उद्योगी व्यवसायीका केही नेता अग्रवाललाई जोगाउन स्पष्टसँगै लागेका छन्। उद्योगी व्यवसायीका नेताले अग्रवाल खराब मान्छे नभएको भन्दै सरकारलाई गुमराहमा पार्ने प्रयाससमेत गर्दै–आएको बताइएको छ । तर, अग्रवाल यसअघि नै पटक–पटक विवादमा पर्दै आएका व्यक्ति हुन् ।


















