नेपाल र भारततर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमाक्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताउनुभयो । शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका दुई पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताउनुभयो ।
नियन्त्रणमा लिएका एकले आफू किशोरीको आफन्त रहेको प्रहरीसमक्ष बयान दिएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमतिअनुरुप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ ।
सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन् । भारततर्फ लैजानुपूर्व उनीहरुको उचाईसमेत नापिएको थियो । त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो ।
बताइएअनुसार सीमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्यानमा बसेवापत दुई लाख रकम दिने भनिएको थियो । चौधरी थर भएका युवतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो ।


















