काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार साँझ परिषदको बैठक शुरु भएको हो ।
प्रधानमन्त्री अध्यक्ष रहेन परिषदमा रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयका मन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति सदस्य हुन्छन् । परिषदको सदस्य–सचिवका रुपमा रक्षा मन्त्रालयका सचिव हुन्छन् ।
सैनिक स्रोतका अनुसार बैठकमा मुलुकमा शान्ति सुरक्षाको वर्तमान अवस्था, वर्तमान तथा भावी सुरक्षा चुनौती र पछिल्लो घटनाक्रमबारे छलफल हुने छ ।
यस्तै, सुरक्षा चुनौतीको पहिचान गरी त्यसको प्रतिकार्यका लागि अपनाइने रणनीतिका विषयमा पनि सुरक्षा परिषदमा छलफल हुने गर्छ ।
यस पटक नेपाली सेनाका ८ वटै पृतनाका प्रमुख (पृतनापति)हरुको सम्मेलन सकिएको भोलिपल्टै सुरक्षा परिषदको बैठक बसेको छ ।
पृतनापतिहरुको सम्मेलनमा कोभिड १९ को बढ्दो संक्रमण र प्रतिवन्धित नेकपा (विप्लव समूह)लाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौती मानिएको थियो ।


















