काठमाडौं – कैलाली र सुर्खेतबाट अवैध लागूऔषध सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कैलाली, धनगढी उपमहानगरपालिका-३ विशालनगरबाट २ किलो ९ सय ग्राम अवैध
लागूऔषध चरेश सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ बित्थडचिर गाउँपालिका-२ बस्ने २५ वर्षीय करन बोहरा र सोही ठाउँ बस्ने ३२ वर्षीय जय बहादुर बोहरा रहेका छन् । अवैध लागूऔषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट
खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको चरेश सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुर्खेत, गुर्भाकोट नगरपालिका-७ गोचे खोलाबाट ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भेरीगंगा नगरपालिका-१२ बस्ने २१ वर्षीय प्रकाश शाही र सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेश कडेल रहेका
छन् ।
ईलाका प्रहरी कार्यालय छिन्चु र अस्थाई प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरीले भे.९ प ५७७२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त बस्तु सहित फेला पारी मोटरसाइकलमा सवार शाही र मोटरसाइकल चालक कडेललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















