मोरङ । रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवर नाता पर्ने १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित तिलुवा चोकको नहरमा २०७८ जेठ ५ गते बुधबार बिहान अनिताको शव फेला परेपश्चात जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा तत्काल मृतकका पति समेत ४ जनालाई नियन्त्रणमा लिएकोमा थप अनुसन्धानको क्रममा अनिता र बिनोद बिच विवाद भई झै-झगडा हुँदा जेठ ४ गते मंगलबार राति बिनोदले दाउ प्रहार गर्दा अनिताको घटनास्थलमै मृत्यु भएको खुल्न आएपछि बिनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृतक अनिता र देवर बिनोद बिच जेठ ४ गते मंगलवार साँझ झै-झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राति ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ । बिनोद उपर मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।


















