विश्वकप छनोटको अन्तिम खेल राम्रो प्रदर्शन गर्ने तयारीमा : प्रशिक्षक अलमुताइरी

14

काठमाडौं ।  विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन् ।

‘अर्को राम्रो खेल खेल्नुपर्ने छ । नतिजा भन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य हुनेछ,’ उनले भने, ‘नेपालको इतिहास हेर्ने हो भने लामो पासमा धेरै खेलेको देखिन्थ्यो, त्यसमा केहि परिवर्तन भएको छ । हामीले आफ्नो खेल्ने शैलीमा केहि परिवर्तन गरेका थियौं, त्यसको नतिजा देखिएको छ ।’

उनले छोटो समयमा नै नतिजाबारे सोच्न सहज नहुने पनि बताए । ‘नतिजा पनि महत्त्वपूर्ण हुन्छ, तर छोटो समयमा हामीले समर्थकहरुलाई खुसी दिन सकेका छौं । हामीले भविष्यमा थप सकारात्मक नतिजा दिने संकेत दिएका छौं,’ उनले भने, ‘जुलाईमा युरोपेली र अफ्रिकी राष्टसँग मैत्रीपूर्ण खेल खेल्न कार्यक्रम छ । सेप्टेम्बरको साफ च्याम्पियनसिपको लागि हाम्रो मुख्य तयारी हो । त्यसको लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौं र सुधार पनि देखिएको छ ।’

प्रशिक्षक अब्दुल्लाहले टोलीमा रहेका केहि युवा खेलाडीलाई डेब्यु गर्ने संकेत दिएका छन् । कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलान पहिलो पटक राष्ट्रिय टोलीमा पर्दै डेब्युको प्रतीक्षामा छन् । ‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ । कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नु पर्छ । अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन, तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परिक्षण गर्न जरुरि पनि छ,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले पछिल्लो खेलमा जोर्डनविरुद्ध रेफ्रीको निर्णयलाई लिएर पनि प्रश्न गरे । ‘जोर्डनविरुद्ध रेफ्रीको प्रदर्शन चित्तबुझ्दो थिएन । गोलरक्षकले रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले एन्फासँग सम्झौता गर्दा चौथो स्थानमा रहने वाचा अनुसार आफू सफल रहेको पनि बताए । ‘मलाई चौथो स्थानमा रहने लक्ष्य दिइएको थियो, त्यसमा हामी सफल भएको छौं । तर शीर्ष ४ मा पर्न भने हाम्रो प्रयास जारी छ । हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं,’ उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here