कीनपामा नेवाः अगुवाहरुले सामुहिक रुपमा स्थानीय भाषामा पुरानै राख्नुपर्ने माग सहित पत्र बुझाए

188

काठमाडौं । कीर्तिपुर नगरपालिकामा स्थानीय संघ नेवाः अगुवाहरुले सामुहिक रुपमा स्थानीय टोलको नाम स्थानीय भाषामा पुरानै राख्नुपर्ने माग सहितको पत्र बुझाएको छ । आगामी नगरसभामा नीतिगत रुपमा पारित गर्नका लागि माग गरिएको सो पत्र कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्का रिजाललाई बुझाएको थियो । शुक्रवार असार ४ गते बुझाएको सो पत्रमा कीर्तिपुरका भाषिक कार्यकर्ता एवं नेवाः अभियानन्ता बुद्धिलाल ज्यापुले हस्तान्तर गर्नु भएको थियो ।

सो पत्रमा कीर्तिपुरका अभियन्ताहरु बुद्धिलाल महर्जन, श्रीकृष्ण महर्जन, सरलगोपाल महर्जन, रामभोला महर्जन, अर्जुन महर्जन, रिदेन महर्जन, अमरकाजि महर्जन, दिलकुमार महर्जन, सनिल महर्जन र रत्नशोभा महर्जन र नरेश श्रेष्ठले हस्ताक्षरण गरेका छन् । पत्र ग्रहण गर्दै उपमेयर सरस्वती खड्का रिजाले जनताको यो भावनालाई नगरसभामा लाने र कार्यन्वयन गर्ने गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । नगरपालिकामा बुझाएको पत्र यस्तो प्रकारको छः
श्रीमान् नगर प्रमुखज्यू, मिति ः २०७८–०३–०३
कीर्तिपुर नगरपालिका,
बर्खाहिति, कीर्तिपुर ।
विषय ः म्याट्रिक्स प्रणली अन्तर्गत सडक नामांकरणका सम्बन्धमा नीतिगत निर्णय गरिदिने बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा यस कीर्तिपुर नगरपालिका क्षेत्रमा नेपालको प्रथम राज्यवंश गोपालवंशकालमै मानव वस्तीे बसिककेकोे कुरा वंशावलीहरुबाट ठाँहा हुन्छ । यसरी मानव सभ्यताको लामो इतिहास बोकेको ऐतिहासिक थलो भएकोले यस न.पा. क्षेत्रमा ८०–९० मीटरको छोटो दूरीमै फरक–फरक ऐतिहासिक स्थाननामहरु भएको पाउछौँ । ठाँउलाई जनाउने यस्ता ऐतिहासिक नामहरुबाट यस नपाको धार्मिक, सामाजिक तथा सांस्कृतिक इतिहास जान्न, बुझ्न र केलाउन सकिन्छ । यसर्थ यस्ता स्थाननाम भनेका हाम्रा इतिहासका साक्षी हुन्, यस नपाका भाषिक तथा सांस्कृतिक सम्पत्ति हुन् ।
स्थाननामसँग गाँसिएको यस्तो महत्वलाई आत्मसात गरी स्थानीय स्तरमा यिनको संरक्षण तथा अभिलेखिकरण हुनु पर्नेे देखिन्छ । यस नगर क्षेत्रमा छोटो समयमै अस्वभाविक रूपले बढेको आवासिकरण, हाउजिङ, प्लटिङ, बजारीकरण आदिले यहाँका स्थाननाममा पनि अस्वभाविक परिवर्तन ल्याएको छ । बन्दै गरेका नयाँ वस्तीहरुमा प्रचलित स्थाननाम पन्छाई कुनै काल्पनिक शब्द पछाडि मार्ग, नगर, बस्ती, टोल, चोक आदि प्रत्यय झुन्ड्याई साइनबोर्ड टाँगिहाल्ने होडबाजी नै चलेको देख्न सकिन्छ । प्रचलित स्थाननाममो उच्चारण विकृत बनाउने प्रवृति पनि बढेको पाउछौं ।
यस नगरपालिकाले मेट्रिक्स प्रणाली अन्तर्गत न.पा. अन्तर्गतका सबै ठुला–साना सडकलाई निश्चित नाम दिने लक्ष्य राखेकोे कुरा प्रति हाम्रो ध्यानाकर्षण भएको छ । यसरी भविष्यमा बाटोको नामांकरण गर्दा व्यक्ति विशेषले आफुखुसि कल्पेको निराधार शब्दलाई प्राथमिकता नदिई बाटो आसपासको क्षेत्रलाई जनाउने ऐतिहासिक नामलाई आधार बनाउदा उचित हुन्छ भन्ने हाम्रो बुझाई र आम जनमानसको इच्छा रहेको छ । यसो गर्न सकिए मात्र बाटोले नाम पाउनुको साथै ऐतिहासिक महत्वको स्थाननामले संरक्षण तथा प्रचार प्रसार हुने मौका पाउने छ । अतः, सडकको नामांकरण गर्दा निर्विकल्प तत्–तत् सडक आसपास प्रचलनमा रहेको स्थाननामलाई नै प्रमुख आधारका रूपमा लिने भनी यहाँको अध्यक्ष्यतामा हुने सभाबाट नीतिगत निर्णय गराई पाउँ भनी प्रस्ताव स्वरूप यो निवेदन पेश गर्दछौं । धन्यवाद् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here