काठमाडौंमा असार २२ गतेबाट काेराेना विरूद्व दोस्रो मात्रा खोप लगाइने

363

काठमाडौं  । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।

पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जनाए ।  यसका साथै, अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने उनले बताए। खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने जनाइएको छ।

काठमाडौं महानगरपालिकाका वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, हिमाल अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पतालमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइनेछ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीमा दोस्रो मात्रा दिइनेछ। तारकेश्वर नगरपालिकाका धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीमा खोप दिइनेछ। साथै दक्षिणकाली नगरका लागि शेषनारायण स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कीर्तिपुर नगरपालिकाका आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र विष्णु देवी अस्पताल, बुढानिलकण्ठ नगरपालिकाका बुढानिलकण्ठ स्वास्थ्य चौकी र करुणा अस्पताल, टोखा नगरपालिकाका ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र अल नेपाल अस्पतालमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइनेछ।

गोकर्णेश्वरका लागि नेपाल मेडिकल कलेज र  शंकरापुर अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ।

नागार्जुन नगरपालिकाका राकोट प्राथमिक स्वास्थ्य केन्द्र र इचंगुनारायण स्वास्थय चौकी, चन्द्रगिरी नगरपालिकाका सतुंगल स्वास्थ्य चौकी र सशस्त्र प्रहरी अस्पताल, शंखरापुर नगरपालिकाका लप्सीफेदी स्वास्थ्य चौकी र साँखु स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको अभियान अन्तर्गत भेरोसेल खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यी हुन् काठमाडौंका ३२ खोप केन्द्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here