प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित

112
काठमाडाैं । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

पहिलो बैठक बसेर १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सूचारू भए लगत्तै बैठकमा एमाले सांसदले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो। १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन्।

संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फूटाउने षड्यन्त्र मुर्दावाद लगायतका नारा एमाले सांसदहरुले लगाएका थिए। यसअघि बैठक खुलाउन सभामुख अग्नि सापकोटाको नयाँ बानेश्वरस्थित संसद भवनको कार्यकक्षमा एमालेका प्रतिनिधिसँग छलफल गरेका थिए।

छलफलमा सभामुख सापकोटासँगै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र एमालेका सांसद खगराज अधिकारी सहभागी थिए। त्यस्तै सरकारका तर्फबाट कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभागी रहेको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।

प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकबाट नै एमालेले अवरोध गर्दै आएको छ। एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बैठकबाट निकाल्नु पर्ने अडान राख्दै आएको छ। एमालेले सभामुखको भूमिकामा प्रश्न गर्दै नाराबाजी गर्दै आएको छ। सभामुखको पटक पटकको आग्रह पछि पनि एमाले सांसदहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक मंगलबासम्मका लागि स्थगित भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here