रुपन्देही । जहाँनिया राणा शासनविरुद्ध पहिलो जनविद्रोहको सुत्रधार गरेका नेपालका प्रथम सहिद लखन थापाको १ सय ४५ औं स्मृति दिवस मनाएकाे छ । लामो समय थापालाई नेपालको प्रथम सहिद घोषणाको माग गरेर आन्दोलनमा रहेको नेपाल मगर संघले सरकारले माग पूरा गरे पनि आन्दोलन छोडेको छैन । मगर संघले आफ्नो पटक पटकको आग्रहलाई स्वीकार गरेर प्रथम सहिद घोषणा गरे पनि त्यो अनुसारको मान्यता नदिएको भन्दै थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिरहेको छ ।
२०७२ साल असोज २ गतेको मन्त्रिपरिषद बैठकले लखन थापालाई प्रथम सहिद घोषणा गरेपनि व्यवहारमा प्रथम सहिदको सम्मान दिन नसकेको र थापाको स्मृति दिवस फागुन २ मा सरकारी बिदा नदिइएको मगर संघको गुनासो छ ।
लखन थापा अक्षयकोष रुपन्देहीले थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । त्यस्तै लखन थापाको स्मृति दिवस फागुन २ गतेलाई शहीद दिवसको मान्यता र सार्वजनिक विदा दिन माग पनि गरिएको छ ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष अनबहादुर सोतीले प्रथम सहिद थापाको जीवनीलाई पाठ्यक्रममा समावेश गर्न माग गरे ।
संघ र कोषले १४५ औं लखन स्मृति दिवसको अवसरमा फागुन २ गते बुटवलको राजमार्ग चौराहास्थित लखनचोकसहित रुपन्देहीका विभिन्न स्थानीय तहमा पनि स्मृतिसभा गरेको छ ।


















