स्थानीय चुनावी नजिकिदा गाउँघरमा बढ्याे चहलपहल

80

काठमाडाैं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दार्चुलामा चुनावी छलफल, बहस र चर्चा बढेको छ । गाउँदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल हुन थालेको छ । पार्टीका नेताहरू प्रचारप्रसारका लागि गाउँ पसेका छन् ।

उम्मेदवार र दलका नेता तथा कार्यकर्ता घरदैलो कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढेका छन् ।  जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दल चुनावी अभियानमा छन् ।

चुनावी गतिविधिका कारण स्थानीय बजारमा व्यापारिक चहलपहलसमेत वृद्धि भएको छ । मानिसहरूको आवतजावत बढेपछि दैनिक कारोबारमा समेत वृद्धि भएको व्यापारीहरूले खुलासा गरेका छन् ।

दसैं तिहारपछि प्रायः सुनसान बनेका गाउँघरमा अहिले नेता कार्यकर्ताको उपस्थितिले चहलपहल बढेको हो । गाउँमा स-साना चिया पसलदेखि ठूला होटलसम्ममा नेता कार्यकर्ताको जमघट हुने गरेको छ ।

चुनावका कारण आर्थिक गतिविधिमा वृद्धि भएपछि व्यवसायीहरू उत्साहित भएका छन् । राजनीतिक दलका बैठक, सभा, कोठे तथा होटलमा हुने छलफलजस्ता गतिविधि बाक्लिएपछि गाउँमा आर्थिक कारोबारमा वृद्धि भएको स्थानीय सुरेन्द्रसिंह धामीले खुलासा गरे ।

नेता कार्यकर्ताको उपस्थितिले दुर्गम गाउँका टुक्रे बजारमा समेत व्यापार बढेको  धामीले जनाए ।  वडा तहदेखि गाउँपालिका हुँदै नगरक्षेत्रसम्म नै दलका उम्मेदवारहरू आफ्ना एजेण्डा सुनाउँदै घरदैलो गर्दैछन् ।  जिल्लामा मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादीका दैनिकजसो चुनावी कार्यक्रम भइरहेका छन् ।

गाउँसम्म पुगेका दलका नेता कार्यकर्ताले खाँदा, हिँड्दा गाउँका साना व्यवसायीको समेत व्यापार बढेको हो । चुनावमा आफ्नो पक्षमा बढीभन्दा बढी मत पार्नका लागि पनि नेताहरूले यो बेला बढी खर्च गर्छन् ।

चुनावी कार्यक्रमकै कारण गाउँको साग, आलु, दूध, दही, अण्डा, घिउ, कुखुरा, खसी, चामललगायतको व्यापार वृद्धि भएको मालिकार्जुन गाउँपालिका-१ का व्यापारी आनसिंह साउदले जनाए ।  वर्षौंदेखि सदरमुकाम हुँदा अड्किएको अधिकार सबै गाउँमा गएपछि गाउँमा यसै पनि व्यापारिक चहलपहल बढेको थियो ।

अहिले चुनावी कार्यक्रमले झनै कारोबार वृद्धि गराएको होटल व्यवसायीहरूको भनाइ छ । जिल्लाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा पनि व्यापार बढेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here