चुनाव नजिकिदै गर्दा पराजयको त्रासमा प्रमुख दलहरु !

74

राजावादीहरु देशव्यापी चुनाव अभियानमा÷विभिन्न पार्टीहरुबाट राप्रपामा प्रवेशको लहर
काठमाडौं । स्थानीय चुनावको वातावरण अभैm तात्न पाएको छैन । तर पनि राजनीतिक दलहरुमा विजय र पराजयको आंकलन भइरहेको छ । यही कारणले गर्दा दलहरु चुनावी गठबन्धन बनाउने प्रयास गरिरहेका छन् । प्रयासकै क्रममा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनाउन नेताहरु मैदानमा उत्रिएका छन् भने सत्ता गठबन्धन दलका सबै चुनावमा पनि गठबन्धन बनाएर जानुपर्ने धारणा पनि बाहिर आइरहेका छन् ।
चुनाव नजिकिदै गर्दा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पनि सरकारमा जान इच्छुक देखिएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल चलिरहेको खुलासा गरेका छन् । अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको जानकारी सार्वजनिक गरेका छन् । लोसपा हालसम्म सत्ता गठबन्धनमा रहेको छैन । लोसपा र नेकपा एमालेबीच चुनावी गठबन्धन हुने चर्चा पनि चलिरहेको छ ।
गत मंगलवार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै महन्थ ठाकुरले सरकारमा सहभागिताका लागि आफूहरूले नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको पनि स्पष्ट पारेका थिए । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा हेरफेरको कुरा चलिरहेको खुलासा गरेका छन् । प्रचण्डले एउटा कार्यक्रममा आगामी हिउँदे संसदको अधिवेशनमा नागरिकता विधेयक पारित हुने उद्घोष गरेका थिए । नागरिकता विधेयकमा लेखिएका प्रावधानहरु धेरै जसो राष्ट्रघाती रहेको भन्दै संसदभित्रैका राजनीतिक दलहरुले समेत विरोध गर्दै आएका छन् । एमसीसी सम्झौताको विरोध हुँदाहुँदै पनि पारित गरिए जस्तै नागरिकता विधेयकलाई पनि पारित गर्ने तयारीमा सत्ता गठबन्धन दलका नेताहरु लागिरहेका छन् भन्ने संकेत प्रचण्डको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।
मन्त्रिमण्डल पुनर्गठन हुँदा माओवादीले आफ्नो हैसियतअनुसारको सिट पाउनुपर्ने भनेर प्रचण्डले दावी गरेका छन् । पार्टी प्रशिक्षणको सिलसिलामा मधेश प्रदेशको जनकपुर पुगेका प्रचण्डले गत मंगलवार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्रिपरिषदमा हेरफेरसहित पूर्णता दिनेबारे कुरा भइरहेको उल्लेख गरेसँगै नागरिकता विधेयकको कुरा पनि गरेका थिए । यसबाट स्पष्ट हुन्छ कि प्रचण्डले नागरिकता विधेयक पारित गर्ने सवालमा सत्तामा बराबर हिस्सेदारीको हैसियत खोजिरहेका छन् । सत्ता गठबन्धन टिकाउनकै लागि एमसीसी पास गरिएको भनिरहेका प्रचण्डले सत्तामा हिस्सेदारी पाउन नागरिकता विधेयक पारित गर्नुपर्ने बाध्यता रहेको भनेर स्पष्टीकरण दिएछन् भने पनि आश्चर्य नमान्दा हुन्छ ।
यसैबीच आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा गर्नुपर्ने प्रावधान निर्वाचन आयोगले राखेको छ । यस्तो प्रावधान संवैधानिक व्यवस्था नरहेको दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । यो निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश समेत जारी गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले कारण देखाऊ आदेशसहित कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सोमवार दर्ता गराएको रिटमाथि मंगलवार सुनुवाइ भएको थियो । सुनुवाइपछि यस्तो आदेश भएको छ । सांसदहरुलाई निर्वाचनमा जादा राजिनामा गर्नुनपर्ने तर स्थानीय निकायका पदाधिकारीहरुले पदबाट राजिनामा दिएर मात्र निर्वाचनमा जान पाउने प्रावधानले विभेद गरेको रिटमा गरिएको छ ।
यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन बीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् । समाजवादी प्रेस संगठन नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गत मंगलवार अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गरेका छन्, तर नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भने नेपाली कांग्रेसले कसैसँग गठबन्धन नगरेर चुनावमा जाने धारणा व्यक्त गरेका छन् ।
एमसीसी सम्झौताको विरुद्धमा खुलेर लागेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले समेत देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढेको खुलासा गरेका छन् ।
पोखरामा मंगलबारदेखि सुरु भएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उदघाटन गर्दै गुरुङ्गले कांग्रेससँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र संघीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको दावी पनि गरेका छन् । चुनाव नआउँदै दलहरुमा पराजयको छट्पटी भइरहेको छ भने राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले भने चुनावी अभियानलाई लक्षित गरेर देशव्यापी रुपमा आमसभाका कार्यक्रमहरु गर्दै आइरहेको छ । विभिन्न पार्टीहरुबाट राप्रपामा प्रवेश गर्नेहरुको लहर पनि चलिरहेको छ । यसबाट राजावादीहरु उत्साहित भएका छन् । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here