काठमाडाैं । आज विश्व पृथ्वी दिवसकाे अवसरमा काठमाडौंसहित देशभर विविध कार्यक्रमकाे गरी दिवस मनाइँदैछ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् ।
पृथ्वी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उपस्थित सामाजिक कार्यका अगुवाहरुले अहिले पृथ्वीको संरक्षण गर्नु अत्यावश्यक भएको बताए । पृथ्वीको संरक्षणका लागि सम्बन्धित निकायले चासो राख्नुपर्ने बेला भएको उनीहरुको गुनासो छ । उनीहरुले पृथ्वीको संरक्षणका बारेमा बेलैमा चासो नदिने हो भने भविष्यमा यसको विकराल अवस्था आउन सक्नेप्रति सचेत गराएका छन् ।
पृथ्वीको संरक्षण कार्यक्रमले नागरिकमा पृथ्वीको संरक्षण कसरी गर्ने र अबका दिनमा पृथ्वीको संरक्षण गर्न नसके कस्तो असर पर्छ भन्ने कुराको चेतना पुग्ने उनीहरुको बुझाइ छ । सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको शुरुवात गरे ।
त्यस्तै सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ ।


















