कामपाले सरकारी आदेशको उल्लंघन गरेर आइतबार कार्यालय खुला गरे

54

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी आदेशको उल्लंघन गर्दै हिजाे आइतबार कार्यालय खुला गरेका छन् । जनप्रतिनिधि रिक्त भएको अवस्थामा कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले कार्यालय खुला गर्ने निर्देशन दिएका छन्।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले कार्यालय बन्द नहुने राजश्व संकलन गर्नुपर्ने भएकाले आइतबार कार्यालय खुला गर्ने निर्णय भएको बताए। आइतबार बिहान ८ देखि ११ बजेसम्म कार्यालय खुला रहने जानकारी दिँदै उनले भने, ‘सरकारी निर्देशन उल्लंघन गरेका होइनौं, कामपाको राजस्व संकलन बढाउन र दैनिक कामलाई चुस्त बनाउन कार्यालय खुला गर्न लागेका हौं ।’ उनले आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहेकाले राजस्व संकलन गर्न यस्तो व्यवस्था गरेको स्पष्टीकरण पनि दिए।

वैशाख १४ गतेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि बिदा दिने निर्णय गरेको थियो ।तर, कामपाका कर्मचारीले भने प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधि नभएको अवस्थामा राजस्व संंकलन गर्ने बहानामा सरकारी निर्देशन अवज्ञा गरेको आरोप लगाएको छ ।

ती कर्मचारीले भने– ‘प्रमुख प्रशासकीय अधिकृत पौडेलले कामपामा मनोमानी गर्न खोज्नुभएको छ । उहाँको हरेक सोचाइ आफूकेन्द्रित देखिएको छ । बिदाको विषयमा कर्मचारीले राय लिँदा प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफूले गरेको निर्णय सबैले मान्नुपर्ने जवाफ दिनुभएको थियो ।’

कामपा प्रशासन विभागले शुक्रबार जारी गरेको सूचनामा कामपाका राजस्व विभाग र वडा कार्यालयहरू सार्वजनिक बिदाको दिन आइतबार खुला रहने र सोहीअनुसार कर्मचारीलाई कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको उल्लेख छ । प्रशासन विभाग प्रमुख महेश काफ्लेद्वारा हस्ताक्षरित सूचनामा वडा र तोकिएको विभागका कर्मचारीलाई अनिवार्य उपस्थित हुन उर्दी गरिएको छ ।

सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बिदाको निर्णय गर्ने विषयमा तालुकदार निकाय संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयसँग राय लिनुपर्नेमा पछिल्लो समय प्रशासकीय प्रमुखका रूपमा कार्यभार सम्हालेदेखि मनोमानी गर्न थालेको कर्मचारीको आरोप छ ।

उच्च स्रोतका अनुसार यसअघि २५ लाखभन्दा माथिको भुक्तानीको चेकमा प्रशासन विभाग प्रमुख र वित्त विभाग प्रमुखले हस्ताक्षर गर्ने गरिएकोमा अहिले उनले आफैंले हस्ताक्षर गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here