निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्दै

76

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्ने भएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

बिहीबार समितिमा सदस्य समेत हेरफेर गरिएको थियो । समितिमा सदस्य रहेकी पुष्पा भुसाल गौतमले प्रतिनिधि सभा उपसभामुखमा उम्मेवारी दिएपछि उनको ठाउँमा मानबहादुर विश्वकर्मालाई पठाइएको थियो । बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्नेछ । बिहीबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट निवर्तमान अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण नआएकाले ठोस एजेण्डामा छलफल हुन नसकेको बताएको थियो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै एमालेका ४ जनासहित ११ सदस्य रहेको संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसगै अर्थमन्त्रीबाट राजीनामा दिएका छन् ।

संसदीय छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, मानबहादुर विश्वकर्मा, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य छन् । समितिलाई छानविन गरी प्रतिवेदन पेश गर्न १० दिनको कार्यावधि दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here