काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको व्यक्तिलाई बुस्टर मात्रा लिन अनुरोध गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखा प्रमुख डा. खगेश्वर गेलालले पछिल्लोपटक कोभिड संक्रमणमा परी ज्यान गुमाउनेमध्ये ७६ प्रतिशतले कोभिडविरुद्धको खोप नलगाएको पाइएको बताउनुभयो ।
डा. गेलाल भन्नुहुन्छ– ‘पछिल्लो पटक नेपालमा कोभिडविरुद्धको खोप पर्याप्त मात्रामा उपलव्ध छ । तर ७५ प्रतिशत बढीले बुस्टर मात्रा लिएकै छैनन् ।’ उहाँले वैशाख, जेठ र असारमा मृत्यु नभएका र संक्रमण पनि कम भएको अवस्था रहे पनि श्रावणको पहिलो साताबाट शुरू भएको मृत्युबाट शनिबारसम्म १८ जनाको मृत्यु भएको र तीमध्ये १४ जनाले कोभिडविरुद्धको खोप नलगाएको बताउनुभयो ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५ सय ५३ जना नयाँ कोरोना संक्रमित थपिएको जनाएको छ । कुल ३ हजार ७ सय ८९ जनामा गरिएको परीक्षणमा ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा ४ सय ३३ जना डिस्चार्ज भएका छन् भने कसैको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मध्ये १२ वर्षमाथि ८८ दशमलव ४ प्रतिशतले मात्र पूर्ण मात्रा लगाएका छन् ।

















