माओवादीसँग तत्काल एकता हुँदैन : एकीकृत समाजवादी

42

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुँदैछ भनि भइरहेको प्रचारमा सत्यता नभएको बताएको छ।

महासचिव बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकता हुने चर्चाको खण्डन गरेका हुन्।

‘विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा भइरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट पार्न चाहन्छौं कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन।’

नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा आफूहरु प्रष्ट रहेको तर माओवादीसँग तत्काल एकताबारे अहिले कुनै निर्णय नभएको भुसालले बताएका छन्। ‘त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही पनि भएको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here