कतारमा जारी विश्वकपको तेस्रो स्थानमा क्राेएसिया

45
DOHA, QATAR - DECEMBER 17: Mario Pasalic of Croatia battles for possession with Hakim Ziyech of Morocco during the FIFA World Cup Qatar 2022 3rd Place match between Croatia and Morocco at Khalifa International Stadium on December 17, 2022 in Doha, Qatar. (Photo by Clive Brunskill/Getty Images)

काठमाडौं । मोरोक्कोलाई शनिबार २-१ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थान हासिल गरेको छ । कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको सातौँ मिनेटमा जोस्को जिभार्डियलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । ओभ्रो माजेरको क्रसलाई इभान पेरिसिचले बक्सभित्र जिभार्डियलका लागि मिलाइदिएका थिए । जसमा जिभार्डियलले उत्कृष्ट हेडर गोल गरे । तर, क्रोएसियाको यो अग्रता धेरैबेर टिक्न पाएन ।

यसको अर्को मिनेटमा नै अक्रफ दारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा फर्काएका थिए । बक्सबाहिरबाट आएको फ्रिकिक बल क्रोएसिका ओभ्रो माजेरले क्लियर गर्न नसक्दा दारीले हेडर गोल गरेका थिए ।

तर, पहिलो हाफमा लागि तीन मिनेट बाँकी रहँदा मिस्लाभ ओर्सिचले गोल गर्दै पुन: क्रोएसियालाई अग्रता दिलाएका थिए । र, ओर्सिचको गोल नै निर्णायक बनेपछि क्रोएसियाले कतार विश्वकपमा तेस्रो स्थान हासिल गर्‍यो ।

विश्वकपको इतिहास क्रोएसियाले दोस्रोपटक तेस्रो स्थान हासिल गरेको हो । यसअघि क्रोएसियाले सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । जुन विश्वकपमा क्रोएसियाको पहिलो सहभागितासमेत थियो । क्रोएसियाले विश्वकपको पछिल्लो संस्करणमा भने फाइनलसम्मको यात्रा तय गरेको थियो ।

तर, फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित भएपछि क्रोएसियाले उपविजेतामा चित्त बुझाएको थियो । यता, मोरवक्को भने अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल खेल्ने पहिलो टिम हो । सेमिफाइनल खेलमा मोरवक्को फ्रान्ससँग २-० ले र क्रोएसिया अर्जेन्टिनासँग ३-० पराजित भएका थिए । विश्वकपको फाइनल खेल आइतबार लुसैल रंगशालामा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here