मुस्ताङमा फस्टाउँदै आलुखेती

80

म्याग्दी । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज बनेको छ ।

मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ ।

उहाँका अनुसार मुस्ताङको तीन सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती हुन्छ । गत वर्ष रु ३३ करोड मूल्य बराबरको छ हजार सात सय २२ मेट्रिकटन आलु निकासी भएको उहाँले जानकारी दिनुभयो ।

“स्थानीय तहसँग समन्वयमा आलुको क्रप कटिङ गरिएको थियो”, उहाँले भन्नुभयो, “कुल उत्पादित आलुमध्ये २० प्रतिशत आलु बीउका लागि र १० प्रतिशत जिल्लामै खपत भएको पाइयो ।”

प्रतिहेक्टर जमिनमा औसत ३० दशमलव ७८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादीको प्रयोगविना उत्पादन भएको मुस्ताङको आलुको बजारमा उच्च माग रहेको कृषक आजित थकालीको भनाइ छ ।

“आलु एक पाथीको रु. एक सय ५० देखि रु. दुई सय १० सम्ममा बिक्री हुने गरेको छ”, उहाँले भन्नुभयो, “प्रतिपाथीमा औसत तीन किलो आलु हुन्छ ।” उहाँका अनुसार बारीमा नखन्दै व्यापारीले अग्रिम पैसा दिएर आलु खरिद गर्छन् ।

मुस्ताङ घुम्न जानेले कोसेलीका रुपमा आलु किनेर लैजाने गर्छन् । मुस्ताङको आलु स्वादिलो हुने भएकाले माग बढेको हो । अन्य ठाउँको तुलनामा मुस्ताङमा उत्पादन हुने आलुको स्वाद फरक हुन्छ । चिसो हावापानीका कारण आलुमा रोग कीराको समस्या देखिएको छैन ।

मङ्सिरदेखि फागुनसम्ममा लगाइने आलु भदौ र असोजमा खन्ने गर्छन् । यहाँका किसानले आलुखेतीमा भेडाच्याङ्ग्रा, गाई, गोरु र चाैंरीको मल प्रयोग गर्छन् भने रासायनिक मल प्रयोग गर्दैनन् ।  मुस्ताङको आलुलाई पोखरा, बेनी, बागलुङ, काठमाडौँ, चितवनलगायत देशका विभिन्न सहरका होटलमा विभिन्न परिकार बनाउन प्रयोग हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here