कंगोको एक चर्चमा विष्फोटनमा परी दश जनाको मृत्यु

68

काठमाडौं । अफ्रिकी देश कंगोको एउटा चर्चमा भएको बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

युगान्डासँगको सीमावर्ती सहर कसिन्दीस्थित उक्त चर्चमा आइतबारको प्रार्थना सभा भइरहेको बेला विस्फोट भएको हो।

चरमपन्थी इस्लामिक संगठन आईएसआईएससँग आबद्ध सशस्त्र समूह अलाइड डेमोक्राटिक फोर्सेज–एडीएफले विस्फोटको जिम्मेवारी लिएको छ। एडीएफ कंगोलाई आधारभूमि बनाएर विद्रोही गतिविधि सञ्चालन गर्दै आएको युगान्डालीहरुको सशस्त्र हतियारधारी समूह हो।

कसिन्दी उत्तरपूर्वी किभु प्रान्तमा पर्दछ भने यहा कंगो र युगान्डाका सरकारी सेनाले एडीएफविरुद्ध सैन्य अभियान चलाउँदै आएका छन्।

२०१९ को मध्यतिर चरमपन्थी समूह इस्लामिक संगठन आईएसआईएससंग आबद्धता जनाएको यो समूहले विगतका वर्षहरुमा सयौं निर्दोष गाउँलेहरुलाई मारेको आरोप छ।

गत वर्षको अप्रिल यता मात्रै एडीएफले ३७० सर्वसाधारणको हत्या गर्नुका साथै अन्य सयौं मानिसको अपहरण गरेको संयुक्त राष्ट्रसंघद्वारा गत महिना जारी प्रतिवेदन जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here