नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’

159

काठमाडौं । गत पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको अनुसन्धानबाट खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार टी–२० लिगका सुरुका केही खेलमा स्पट फिक्सिङ भएको पुष्टि भएको हो।

खेलका क्रममा फिक्सिङ भएको समाचार सार्वजनिक भएपछि सीआईबीले छानबिन समिति बनाएको थियो। डीएसपी सुन्दर तिवारीको संयोजकत्वमा बनेको ६ सदस्यीय टोलीले अनुसन्धानपछि प्रतियोगितामा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको हो।

प्रतियोगिताकै क्रममा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा नेपाल टी-२० लिगमा काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएपछि उक्त प्रकरण सतहमा आएको थियो। फिक्सिङको प्रस्ताव आएपछि उनले ‘एन्टी करप्सन युनिट’लाई खबर गरेका थिए।

खेलका दौरान राम्रो खेल्दै गरेका खेलाडीलाई ड्रप गरिएको, राम्रो बलर हुँदाहुँदै बलिङ अनुभव नै नभएको खेलाडीलाई अवसर दिइएको, म्याच म्यानेजर खेलाडीको ‘विफ’ लगाएर फिल्डरसँग कुरा गर्न बाउन्ड्री बाहिर घुमिरहनुले खुलमखुल्ला स्पट फिक्सिङ भइरहेको शंकालाई मद्दत गरेको थियो। साथै पारिश्रमिक नपाएको भन्दै विदेशी खेलाडीहरु पनि बाहिरिएका थिए।

फिक्सिङसम्बन्त्री  विवादबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टोलीसमेत नेपाल आएको थियो। तर नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी- २० लिगमा म्याच फिक्सिङ नभएकाे दाबी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here