काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ। युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’जारी गरेको थियो। त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो।
राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन्। आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै ।
वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षपातीको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्ट रूपमा उभ्याएको थियो।
अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्नसक्छ। त्यसकारण अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्ने गरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न यो वर्षको युनेस्कोले तय गरेको नाराले अपिल गरेको छ।

















