भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल झन्डै एक घन्टा अवरुद्ध

45

काठमाडाैं । ७६ जना यात्रु बोकेर उडेको श्री एयरलायन्सको जहाजको ल्यान्डिङ गियर अड्किँदा सोमबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल झन्डै एक घन्टा अवरुद्ध भएको छ ।

भैरहवा विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, श्रीको ड्यास–८ विमान काठमाडौंका लागि बिहान ९ः४० मा उडेको थियो । भुइँ छाडेर उडेलगत्तै पाइलटले विमानका तीन वटा ल्यान्डिङ गियर (पांग्रा) लाई जहाजको संरचनाभित्र फिर्ता तान्दा नपसेपछि उक्त विमान भैरहवा नै फर्किनु परेको थियो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार, श्रीको जहाज उडेपछि चालकदलले ल्यान्डिङ गियर तान्ने प्रयास गर्दा नसकिएपछि भैरहवा विमानस्थललाई काठमाडौं नगइ त्यही फर्किने बताएका थिए ।

‘९ बजेर ४० मिनेटमा उडेको श्रीको एसएचए ८२२ उडान नम्बरको विमानले ल्यान्डिङ गियर रिट्रयाक्ट गर्न नसकेपछि १८ मिनेट उडेर भैरहवामा फर्कियो,’ सहप्रवक्ता भूलले भने ।

उनका अनुसार, भैरहवाको रनवे ०१ विन्दुबाट अवतरण भएको विमान अर्को २८ नम्बरको रनवेको विन्दुमा पुगेर अड्किएको थियो । त्यहाँबाट ट्याक्सी वे हुँदै एप्रोनमा जहाज आउन नसकेपछि इन्जिन बन्द गरेर यात्रुलाई रनवेमै झारिएको थियो । ‘ल्यान्डिङ गियर अड्किएको जहाज भैरहवा विमानस्थलमा अवतरण भयो । तर धावनमार्गको अर्को विन्दुमा अड्कियो । यात्रुलाई एप्रोनमा फिर्ता ल्याउन नसकेर धावनमार्गमै ओरालेर बसबाट फिर्ता ल्याउनु पर्‍यो,’ सहप्रवक्ता भूलले भने ।

उक्त जहाजलाई धावनमार्गबाट तान्न त्यहाँ नेपाल वायुसेवा निगमले ठूला जेट विमानका लागि राखेको उपकरणको सहायताले तान्न खोजिएको थियो । तर, एयरबस ३२० का लागि राखिएको उक्त उपकरणबाट श्रीको ड्यास विमान तान्न नसकिएको भैरहवा विमानस्थलका महाप्रबन्धक पाण्डेले बताए ।

सबै यात्रुलाई ओरालेर एप्रोन पठाइए पछि श्रीका चालक दलले पुन: इन्जिन स्टार्ट गरेपछि दोस्रो प्रयासमा जहाजलाई एप्रोनमा ल्याएका थिए । ‘यात्रु ओरालेपछि अड्किएको अगाडिको चक्का घुम्यो,’ महाप्रबन्धक पाण्डेले भने, ‘अनि पाइलटले दोस्रो प्रयासमा जहाजलाई रनवेबाट एप्रोनको पार्किङमा ल्याएँ ।’

९ः५८ मा धावनमार्गमा अड्किएको श्रीको जहाज १०ः५० मा मात्रै एप्रोनमा ल्याइएको थियो । यस क्रममा भैरहवा विमानस्थल ५२ मिनेट बन्द हुन पुगेको थियो । यही बेला काठमाडौंबाट उडेको यतिको एटीआर विमान भैरहवामा अवतरण हुन नसक्ने भएपछि भरतपुरसम्म पुगेर काठमाडौं नै फर्किनु पर्‍यो ।

यो घटनापछि श्रीले भैरहवामा ग्राउन्डेड भएको विमान मर्मत गर्न आफ्नै कम्पनीको अर्को जहाजमा इन्जिनियर तथा प्राविधिकहरुलाई भैरहवा पठाउने जानकारी प्राधिकरणलाई दिएको छ ।

श्रीसँग आन्तरिक उडानका लागि ८ विमान छन् । तीमध्ये हाल ३ वटा सीआरेज र एउटा ड्यास–८ विमान ग्राउन्डेड रहेको र दैनिक उडानमा तीन वटा ड्यास–८ र एउटा सीआरजे विमान रहेको सहप्रवक्ता भूलले बताए ।

भैरहवा–काठमाडौं हाल दैनिक दुईतर्फी २२ वटा उडान हुन्छन् । यीनमा श्रीले चार वटा उडान राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here