उपराष्ट्रपति यादव र संयुक्त राष्ट्रसंघीय विश्व खाद्यका सहायक जिन किमबीच भेट

48

 

काठमाडाैं ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँगतथा संगठनको एसिया प्रशान्त क्षेत्रका प्रतिनिधि जोङ–जिन किमले आज शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय सहकार्यका विविध विषयमा विचार–विमर्श भएको थियो ।

सो क्रममा उपराष्ट्रपति यादवले नेपालले बहुपक्षीयताका मूल्य र सिद्धान्तको प्रवर्द्धन गर्दै आइरहेको जनाउँदै वर्तमान विश्व परिवेशका चुनौती सामना गर्न संयुक्त राष्ट्रसंघले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेकाे उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

‘सैद्धान्तिक समर्थन तथा शान्ति स्थापना मिसनमा निरन्तर सहभागितामार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि महत्वपूर्ण योगदान गर्दै आएको छ,’ उनले भने, ‘नेपालले भर्खरै अतिकम विकसित मुलुकको संयोजक समितिको अध्यक्षता गरेको छ, जसलाई सफलतापूर्वक र प्रभावकारी रूपमा वहन गर्न नेपाल दृढ छ ।’

उनले नेपालको कृषि क्षेत्रमा क्षमता विकास, खाद्य तथा पोषण सुरक्षा तथा ग्रामीण विकासमा विश्व खाद्य तथा कृषि संगठनले गरेको योगदानको प्रशंसा गरे । ‘नेपाल र विश्व खाद्य तथा कृषि संगठनबीचको सहकार्य आउँदा दिनमा अझ प्रभावकारी र सुदृढ हुनेमा म विश्वस्त छु,’ उपराष्ट्रपति यादवले भने ।

भेटमा सहायक महानिर्देशक किमले नेपाल सरकारसँगको सहकार्यमा तयार पारिएको पञ्चवर्षीय ‘नेपाल कार्यक्रम रणनीति’ सार्वजनिक गरेको जानकारी दिए । कृषि क्षेत्रमा हुने विकास अति कम विकसित मुलुकबाट स्तरोन्नतिका लागि महत्वपूर्ण भएको उनले बताए । उनले भने, ‘एफएओको नेपाल कार्यक्रम रणनीतिका अलावा अन्य सहयोग जारी राख्ने विश्वास म दिलाउन चाहन्छु ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here