सुन तस्करी प्रकरण विभागले १८ जनालाई पक्राउ

50

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको तस्करीको झन्डै एक क्विन्टल सुन प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिने निर्णय गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा थप छानबिनको जिम्मेवारी सिआइबीलाई दिन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिनुभएको थियो। विभागले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सुन तस्करी प्रकरणको थप अनुसन्धानका लागि फाइल सिआइबीलाई बुझाउने निर्णय गरेको जानकारी दिएको छ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले सुन तस्करी प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिने निर्णय भएको जानकारी दिनुभयो। हङकङबाट स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको झन्डै एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागको विशेष टोलीले साउन ३ गते त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रबाट बरामद गरेको थियो ।

विभागले झन्डै तीन हप्तासम्म गरेको अनुसन्धानबाट सुन तस्करीको सङ्गठित अपराधमा गिरोहको संलग्नता देखिएपछि थप अनुसन्धानको जिम्मा प्रहरीलाई दिने निर्णय गरेको हो।

महानिर्देशक ढुङ्गानाले तस्करीको प्रकृति र पक्राउ परेका व्यक्तिको बयानका आधारमा तस्करीमा अन्तरदेशीय अपराधजस्ता विषय पनि देखा परेको बताउनुभयो। हालसम्मकै ठुलो परिणामको सुन तस्करी प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। विभागले हालसम्म गरेको अनुसन्धान र पक्राउ परेका अभियुक्तसमेतलाई प्रहरीको जिम्मा लगाउने जनाएको छ।

उक्त सुन तस्करी प्रकरणमा नेपाल, भारत र चीनका गरी हालसम्म तीन देशका नागरिक पक्राउ परेका छन्। विभागका महानिर्देशक ढुङ्गानाले अनुसन्धानका क्रममा कतिपय ठाउँमा छापा मारिएको र पक्राउ परेका अभियुक्तको बयान अध्ययन गर्दा सुन तस्करी प्रकरण थप पेचिलो बनेको बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत पटक पटक सुनलगायत अवैध वस्तुको तस्करीमा सङ्गठित गिरोहको संलग्नता रहेको र यसको विस्तृत अनुसन्धान हुनुपर्ने भन्दै सुरक्षा विज्ञहरूले अनुसन्धानको जिम्मा सिआइबीलाई दिनुपर्ने आवाज उठाउँदै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here