त्रिविको आईटी कोर्ष बीआईसीटीई भर्ना खुला

43

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र सङ्कायले ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) मा भर्ना खुला गरेको छ । शिक्षा सङ्कायको डीन कार्यालय, बल्खुले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

बीआईसीटीईमा भर्ना हुन विद्यार्थीले भदौ १ देखि असोज ४ गतेसम्म आवेदन फाराम बुझाउनु पर्नेछ । विलम्ब शुल्क बुझाएर असोज १२ सम्म विद्यार्थीले फारम भर्न सक्छन् ।

इच्छुक विद्यार्थीले यो वेबसाइटमा गई अनलाइन फारमभित्र रहेको ‘Online Entrance Registration’ मार्फत अनलाइन फारम भर्न सक्नेछन् । प्रवेश परीक्षा असोज २२ मा हुनेछ ।

कक्षा ११/१२ मा जुनै विषय लिएका विद्यार्थीले यो विषयमा भर्ना हुन पाउँछन् । तर उनीहरूले न्यूनतम १.८० सीजीपीए वा ‘डी’ प्लस ल्याएको हुनुपर्छ ।

यसमा भर्ना हुन इच्छुक विद्यार्थीले सम्बन्धित कलेजमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।

हाल त्रिविको ९ आंगिक र १९ सामुदायिक क्याम्पस गरेर कूल २८ क्याम्पसमा बीआईसीटीई पठनपाठन हुन्छ । हालसम्म कुनै पनि निजी कलेजले यो कोर्ष सञ्चालन गरेको छैन ।

यस विषय पढाइ हुने आंगिक क्याम्पस निम्न छन्:

-सानोठिमी क्याम्पस, भक्तपुर

-महेन्द्र रत्न क्याम्पस, काठमाडौँ

-विरेन्द्र बहुमुखी क्याम्पस, चितवन

-बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

-सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत

-महेन्द्र मोरङ क्याम्पस, मोरङ

-डडेलधुरा बहुमुखी क्याम्पस, डडेलधुरा

-आरआरएम क्याम्पस, धनुषा

-सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस, सिरहा

त्यसैगरी यो विषय पढाइ हुने सामुदायिक क्याम्पसहरू निम्न छन्:

-आदिकवि भानुभक्त क्याम्पस, तनहुँ

-बालकुमारी कलेज, चितवन

-घोडाघोडी बहुमुखी क्याम्पस, कैलाली

-जन भावना क्याम्पस, ललितपुर

-जनज्योति बहुमुखी क्याम्पस, सर्लाही

-जनमैत्री बहुमुखी क्याम्पस, काठमाडौँ

-काभ्रे बहुमुखी क्याम्पस, काभ्रेपलान्चोक

-मध्यविन्दु बहुमुखी क्याम्पस, नवलपरासी पूर्व

-मकवानपुर बहुमुखी क्याम्पस, मकवानपुर

-महाकवि देवकोटा क्याम्पस, नवलपरासी पश्चिम

-म्याग्दी बहुमुखी क्याम्पस, म्याग्दी

-निलकण्ठ बहुमुखी क्याम्पस, धादिङ

-सहिद स्मृति बहुमुखी क्याम्पस, चितवन

-सप्तगण्डकी बहुमुखी क्याम्पस, चितवन

-सुकुना बहुमुखी क्याम्पस, मोरङ

-वालिङ बहुमुखी क्याम्पस, स्याङ्जा

-त्रियुगा बहुमुखी क्याम्पस, उदयपुर

-जेएस मुरारका बहुमुखी क्याम्पस , सिरहा

-जनता बहुमुखी क्याम्पस सुनसरी

हेर्नुहोस् सूचना

के हो बीआईसीटीई ?

सूचना तथा सञ्चार प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ त्रिवि शिक्षा शास्त्र सङ्कायले सन् २०१० (विसं. २०६७) देखि तीन वर्षे बीएड आईसीटी (ब्याचलर अफ एजुकेसन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी) सञ्चालनमा ल्याएको थियो । त्यो समयमा देशभरका पाँच आङ्गिक क्याम्पसहरूमा यो कोर्ष पढाउन सुरु गरिएको थियो ।

एक वर्षपछि आठ सामुदायिक क्याम्पसहरूमा यो कोर्ष थपियो । सन् २०१५ मा त्रिविले कोर्षलाई परिमार्जन गर्दै चार वर्षे (९ सेमेस्टर) बनायो ।

यस समयसम्म बीएड आईसीटी देशका १४ क्याम्पसमा सञ्चालन भइरहेकाे थियाे । पुन: बीएड आईसीटीलाई सन् २०२१ मा परिमार्जन गर्दै बीआईसीटीई बनाइयो ।

हाल यो कोर्ष देशभरका २८ क्याम्पसमा सञ्चालनमा छ । समग्रमा भन्दा बीएड आईसीटीको परिमार्जित कोर्ष नै बीआईसीटीई हो । तर अहिले यी दुवै कोर्ष सञ्चालनमा छन् ।

पाठ्य संरचना

तीन वर्षे बीएड आईसीटी कोर्षमा कूल पर्णाङ्क १५०० थियो । जसमा ८०० अंकको आईटी कोर्ष थियो । सो कोर्षको पहिलो वर्ष ‘कम्प्युटर फन्डामेन्टल एन्ड प्रोग्रामिङ’ र ‘बेसिक हार्डवेयर, सफ्टवेयर एन्ड सी प्रोग्रामिङ’ पढाइ हुन्थ्यो ।

दोस्राे वर्ष ‘एमआईएस, डेटा स्ट्रक्चर एन्ड रिसेन्ट टेक्नोलोजी’, ‘कम्युनिकेसन एन्ड साइबर ल’ र ‘टिचिङ आईसीटी’, ‘अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ एन्ड डेटाबेस’को पढाइ हुन्थ्यो ।

त्यस्तै तेस्रो वर्ष ‘ग्राफिक्स, न्युमेरिकल मेथड एन्ड सफ्टवेयर इन्जिनियरिङ’, ‘ई-लर्निङ’ र ‘जाभा एन्ड डट नेट टेक्नोलोजी’ विषय पठनपाठन हुन्थे ।

सन् २०१५ मा पुन:संरचना गरिएको कोर्षलाई १३८ क्रेडिट आवरको बनाइयो । जसमा कोर आईटी विषय ४३ प्रतिशत (६० क्रेडिट), म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स २२ प्रतिशत (३० क्रेडिट), प्रोफेसनल एजुकेसन १७ प्रतिशत (२४ क्रेडिट), कम्युनिकेसन स्किल ९ प्रतिशत (१२ क्रेडिट), प्राेजेक्ट वर्क र इन्टर्नशिप ९ प्रतिशत (१२ क्रेडिट) राखियो ।

त्यस्तै परिमार्जित पाठ्यसंरचना अनुसार भने बीआईसीटीईमा कोर आईटी विषय ५२ प्रतिशत (६९ क्रेडिट), म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स ११ प्रतिशत (१५ क्रेडिट), प्रोफेसनल एजुकेसन १८ प्रतिशत (२४ क्रेडिट), कम्युनिकेसन स्किल ९ प्रतिशत (१२ क्रेडिट), प्राेजेक्ट वर्क तथा इन्टर्नशिप (६ क्रेडिट) र लाइफ स्किल ५ प्रतिशत (६ क्रेडिट ) विषयहरू अध्यापन हुने गर्छ ।

कस्ता छन् पढाइ हुने विषय ?

कोर्षमा आईटी तथा नन्आईटीका विभिन्न विषय समावेश गरिएकाे छ । तल तीबारे संक्षिप्तमा चर्चा गरिएको छ:

-कोर आईटी

पहिलो सेमेस्टरमा ‘आईटी एन्ड प्रोग्रामिङ कन्सेप्ट विथ सी’, दोस्राे सेमेस्टरमा ‘डिजिटल लजिक’ र ‘अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ विथ सी++’ पढाइ हुन्छ । यी दुवै विषय ६/६ क्रेडिटका हुन् ।

तेस्रो सेमेस्टरमा ‘डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम’, ‘कम्प्युटर आर्किटेक्चर एन्ड अर्गनाइजेसन’ र ‘वेब टेक्नोलोजी’, चौंथो सेमेस्टरमा ‘अपरेटिङ सिस्टम’, ‘डेटाबेस म्यानेजमेन्ट सिस्टम’ र ‘सिस्टम एनलाइसिस एन्ड डिजाइन’ रहेको छ । यी ९/९ क्रेडिटका कोर आईटी विषय हुन् ।

तेस्रो सेमेस्टरमा ‘ट्वान्टी फस्ट सेन्चुरी लाइफ स्किल’ र चौंथो सेमेस्टरमा ‘एजुकेसनल लिडरशिप इन डिजिटल एरा’ राखिएको छ । साथै दुवै सेमेस्टरमा जीवनोपयोगी सीपबारे एक-एक विषय छन् ।

पाँचौ सेमेस्टरमा ‘जाभा प्रोग्रामिङ’, ‘डेटा कम्युनिकेसन एन्ड नेटवर्कस्’, ‘सफ्टवेयर इन्जिनियरिङ एन्ड प्रोजेक्ट’ छन् ।

छैटौं सेमेस्टरमा ‘भिजुअल प्रोग्रामिङ’, ‘कम्प्युटर ग्राफिक्स’, ‘डिजिटल पेडागोजी एन्ड एलएमस’ र ‘नेटवर्क एन्ड इन्फरमेसन सेक्युरिटी’ विषयहरु अध्यापन हुने गर्छ ।

सातौं सेमेस्टरमा ‘आर्टिफिसियल इन्टेलिजेन्स इन एजुकेसन’ र ‘टिचिङ मेथोड फर आईसीटी’ पढाइ हुन्छ । साथै ‘जिआईएस/बिग डेटा एनालिसिस’ र ‘क्यापस्टोन प्रोजेक्ट’ मध्ये कुनै एक ऐच्छिक विषय रुपमा पढ्नु पर्छ ।

आठौं सेमेस्टरमा ‘सिस्टम एड्मिनिस्टेटर विथ लिनक्स’, ‘पाइथन प्रोग्रामिङ’ छन् । ‘क्लाउड कम्प्युटिङ’ वा ‘मल्टिमिडिया टेक्नोलोजी’ जस्ता विषय ऐच्छिक रुपमा राखिएका छन् । त्यस्तै उही सेमेस्टरमा १२/१२ क्रेडिटको इन्टर्नशिप/शिक्षण अभ्यास राखिएको छ ।

-कम्युनिकेसन स्किल

पहिलो र दोस्रो सेमेस्टरमा कम्युनिकेसन स्किल अन्तर्गत अनिवार्य अंग्रेजी भाषा र नेपाली भाषा पढाइ हुन्छ । यी १२ क्रेडिटका विषय हुन् ।

विद्यार्थीहरुमा भाषिक ज्ञान  र तार्किक सीपको विकास गर्न यी विषयले सहयोग गर्ने गर्छ ।

-प्रोफेसनल एजुकेसन

प्रत्येक सेमेस्टरमा प्रोफेसनल एजुकेसनका एक/एक विषय राखिएका छन् । ती विषयमा वर्तमान शिक्षा के/किन/कसरी/कहिले/कहाँ सिकाउने जस्ता विषयवस्तुको अभ्यास गराइन्छ ।

यस अन्तर्गत ती विषयहरू क्रमश: पहिलोदेखि आठौं सेमेस्टरसम्म ‘फण्डामेन्टलस् अफ एजुकेसन’, ‘डेभलपमेन्टल साइकोलोजी’, ‘साइकोलोजी अफ लर्निङ’, ‘फण्डामेन्टलस् अफ करिकुलम’, ‘शिक्षण र सिकाइमा मूल्याङ्कन’, ‘शिक्षामा अनुसन्धान विधिहरू’ र ‘अनुसन्धान परियोजना’ राखिएको छ ।

-म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स

कम्प्युटर विज्ञान र गणित एक अर्काको परिपुरक विषय हुन् । गणितबिना सूचना तथा प्रविधि अधुरो रहन्छ । गणितको आवश्यकतालाई मध्यनजर गरी बीआईसीटीईमा १५ क्रेडिटको विभिन्न गणितीय विषय राखिएकाे छ ।

यसअन्तर्गत पहिलो र दोस्राे सेमेस्टरमा ‘म्याथम्याटिक्स १’ र ‘म्याथम्याटिक्स २’ छन् । तेस्रो, चौंथो र पाँचौ सेमेस्टरमा क्रमश: ‘प्राेब्याबिलिटी र स्टाटिस्टिक्स’, ‘न्युमेरिकल एनलाइसिस’, ‘डिसक्रीट म्याथम्याटिक्स’ छन् ।

-प्रोजेक्ट तथा इन्टर्नशिप

छोटो अवधिको इन्टर्नशिपले विधार्थीलाई आफ्नो सीप तिर्खान र क्षमता अभिवृद्धि गर्न मद्दत गर्छ । त्यस्तै परियोजन (प्रोजेक्ट) मार्फत आफूले सिकेको सैद्धान्तिक तथा व्यावहारिक ज्ञानलाई उनीहरूले मूर्त रुप दिन सक्छन् ।  त्यहीअनुरुप अन्तिम सेमेस्टरमा ‘रिसर्च प्रोजेक्ट’, ‘सफ्टवेयर प्रोजेक्ट’ र ‘इन्टर्नशिप’लाई अनिवार्य गरिएको छ । tech pana

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here